• १२ मंसिर २०८१, बुधबार

रुरु क्षेत्रका १५८ जनालाई निस्सा प्रदान

blog

निस्सा प्रदान गरिदैं । तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, माघ १० गते । गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा लालपुर्जा वितरण गर्नका  लागि १५८ जनालाई निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले गुल्मीमै पहिलो पटक सो गाउँपालिकामा निस्सा प्रदान गरेको हो । 

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नका लागि पहिलो प्रमाणका रूपमा निस्सा प्रदान गरिएको हो । निस्सा पाएका लाभग्राहीहरूका लागि जग्गा नाँप जाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपुर्जा वितरण गरिने भएको छ । पहिले नै लगत सङ्कलन गरिएको हो । 

निस्सा प्रदान गर्दै राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले लालपुर्जा वितरणको लागि तीव्र रूपमा काम गरेको बताउनुभयो । पहिलो चरणको काम सुरु गरेर प्रमाण दिएको उहाँले उल्लेख गर्नुभयो । जग्गा विहीनलाई जग्गा मालिक बनाउन लागिएको उहाँको भनाई छ । 

यस जिल्लामा दुई हजार १४७ जनाको लगत सङ्कलन गरिएको छ । जिल्लाका चार पालिकामा पनि छिट्टै नै निस्सा प्रदान गरिँदै छ । मुसिकोट नगरपालिका, धुर्कोट, चन्द्रकोट र मदाने गाउँपालिकाकामा निस्सा प्रदान गर्ने तयारी भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जनाएको छ ।