• १७ माघ २०७९, मङ्गलबार

राज्यबाट पाएकाे १० लाखले धानेन घरपरिवार, दशा अझै उस्तै

blog

तस्बिर: २०६० सालमा माओवादी आरोपमा मारिएका रामभुत ( रामसिंह धामी) र उहाँको जीर्ण घर । तस्बिर: गोकर्ण दयाल

द्वन्द्वमा मारिएका बैतडीका रामभुतको परिवारको यथार्थ 

गोकर्ण दयाल 

बैतडी, माघ ९ गते । शान्ति प्रक्रियापछि रामभुतको परिवारलाई राज्यले १० लाख रुपियाँ क्षतिपूर्ति दिए पनि उहाँको घरको दशा भने उस्तै छ । चुहिने जीर्ण घरमा तीन जना श्रीमतीले दिन बिताई रहनु भएको छ । तीन श्रीमती र ६ छोरा ५ छोरी गरी १४ जनाको परिवार हिजोआज साहुको ऋणले चुर्लुम्म डुबेको छ । 

राज्यबाट पाएको १० लाख रकम गाउँको ऋण तिर्नमै सकिएको बताएका छन् । अपहरणमा परेर बुबाको मृत्यु देखेका छोराहरू २०६० सालमै कक्षा ७ र ८ मै पढाई छाडेर भागेपछि छाक टार्न पनि ऋण निकालेर गुजारा गरेको रामभुतकी ६८ वर्षीय श्रीमती अजमति धामीले बताउनुभयो । पाँच जना छोरीको विवाह गर्दा निकालेको ऋणको व्याजको स्याज तिर्नमै उक्त रकम सकिएको  उहाँले बताउनुभयो । 

उहाँका पाँच जना छोरी मध्ये सबैको विवाह भइसकेको छ । छ छोरा मध्ये जेठा वीरसिंह धामी माओवादी आन्दोलनमै रोल्पामा बितेपछि अन्य पाँच भाइले कक्षा ७ र ८ मै पढाई छाडेर भारत पसेर ज्यान जोगाएको र अहिले पनि उहाँहरू सबै भारतमै ज्याला मजदुरी गरिरहेको माहिली श्रीमती अजमति धामीले बताउनुभयो । 

राज्यले क्षतिपूर्ति दिए पनि सहिद परिवारले औषधि उपचार, छात्रवृत्ति जस्ता कुनै पनि  सुविधा नमिलेको कान्छी श्रीमती काली धामीले बताउनुभयो । घरमा तीन जना श्रीमती  ६८ वर्ष ७० र ७५ वर्षका वृद्ध रहेको भतिजा नाता पर्ने सुन्दर सिंह धामीले बताउनुभयो । उहाँहरू घरमा कुनै नयाँ मानिस आएर घटना बारे सोधपुछ गर्दा त्रसित बन्ने गरेको उहाँले बताउनुभयो । द्वन्द्वले मानसिक रूपमा दिएको पीडाको असरका कारण उहाँको श्रीमतीहरू टोलाएर बस्ने, कम बोल्न गरेको पाइएको छ । 


गाउँमा कुनै रोजगारी नहुँदा दाइहरू भारतमा ज्याला मजदुरी गर्ने भएकाले एक जना दाइको भरमा तीन जना वृद्ध आमाहरूको स्याहार चलिरहेको उहाँले बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारबाट उपचारसमेत नपाएको उहाँले बताउनुभयो । थुप्रै सहिदको रगत र बलिदानीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि व्यवहारमा सहिदका घर परिवार, बेपत्ता र घाइतेका लागि कुनै नीति बन्न नसक्दा दुःख लागेको परिवारका सदस्यले बताएका छन् । 

शान्ति सम्झौता हुनु भन्दा ७ दिन अघि मारिएका थिए रामभूत 

वि.सं.२०६० सालको कुरा हो, रामभुत ११ जना छोराछोरी र तीन श्रीमतीसँगै घरमा सुतिरहनु भएको थियो । राति सुरक्षाकर्मीको गस्तीले उहाँको घर घेरा हाल्यो । परिवारका सबै सदस्य आँखा मिच्दै उठे । बिजुली बत्ती केही थिएन । सुरक्षाकर्मीको टर्चलाइटलाई सिधैं रामभुतको आँखामा पर्यो । उहाँलाई आधा राति जङ्गलतर्फ लगेर गोली हानियो भने विवाह हुने तयारीमा रहेकी छोरीलाई हिरासतमा लगियो । कुनै चलचित्र जस्तो लाग्ने यो कथा बैतडी सिगारको द्वन्द्वकालीन यथार्थ घटना हो । 

बि.सं.२००० सालमा जन्मिनु भएका बैतडीको सिगास गाउँपालिका–३, मैनोलाका रामभुत साहदत हुने बेला ६० वर्षको हुनुहुन्थ्यो । ठुलो ज्यान, साहसी, निडर र हकी स्वभाव भएकाले गाउँमा उहाँको परिचय नै रामभुत रहेको उहाँका भतिजा नाता पर्ने सुन्दर सिंह धामीले घटना बारे स्मरण गर्दै बताउनुभयो । 

उहाँले भन्नुभयो,“ रामभुत मेरा ठुलो बुबा हुनुहुन्थ्यो । उहाँको नाम रामसिंह धामी भए पनि उहाँको परिचित नाम रामभुत थियो । ६० वर्षको उमेरमा एक दिनमा १० लिटर मोही खानुहुन्थ्यो । चार वटा भैँसी, दुई हल गोरु पाल्नु भएको थियो । गाउँमा उहाँ आफ्नो खेत जोतेर अरूलाई पनि सघाउनुहुन्थ्यो । भूतले पनि गर्न नसक्ने काम उहाँ एक्लैले गर्ने भएकाले गाउँमा उहाँको परिचय नै रामभुत रहेको हो । ”

घटना स्मरण गर्दै उहाँले भन्नुभयो, “ साहतद हुने बेला ठुलो बुबा निहत्था हुनुहुन्थ्यो । बन्दुक समातेको मैले कहिल्यै देखिन । जेठा दाजु वीरसिंह धामी भने माओवादी आन्दोलनमा रोल्पामा सहिद हुनु भएको हो । एक वर्षपछि ठुलो बुबालाई पनि तत्कालीन सुरक्षाकर्मीले घरमै आएर गोली हाने ।”

रामभुतका छ जना छोरा र पाँच छोरी गरी ११ सन्तान मध्येका जेठा छोरा वीरसिंह धामी रोल्पा भिडन्तमा मारिए पनि परिवारले सदगति गर्न पाएका थिएनन् । गाउँभरि रामभुतको छोरा  रोल्पामा मारियो भन्ने हल्लाले घर परिवारमा त्रास सिर्जना भएपछि पाँच भाइ भागेर भारत पसेको सुन्दर सिंह धामीले    बताउनुभयो । 

छोराको मृत्युपछि गाउँमै आएर माओवादी नेताले सान्त्वना दिदैं शोकलाई शक्तिमा बदल्नुपर्छ भनेर रामभुतलाई सिगास गाविसको गाउ जनसरकार प्रमुख बनाएको उहाँले स्मरण गर्नुभयो । 

२०६० सालको त्यो रात रामभुतका लागि अन्तिम रात थियो । घरमा चार वटा भैँसी पालेर खेतीपाती गर्दै परिवारको गुजारा गर्ने रामभुत गाजस प्रमुख भएपछि उहाँ तत्कालीन सुरक्षाकर्मीको निसानामा परेको परिवारका सदस्यले जानकारी दिएका छन् । 

घरमा छोरीको विवाहको कुरा चलिरहेको थियो । केटा पक्षका मानिस पनि आएका थिए । विवाहको लगन जुराएर सुतेका रामभुत त्यही राति छोरीसहित सुरक्षाकर्मीको नियन्त्रणमा परेको परिवारका सदस्य श्रीमती सरुली धामीले बताउनुभयो । 

घटनाका प्रत्यक्षदर्शी उहाँका भतिजा नाता पर्ने सुन्दर सिंह धामीले रामभुतलाई घरभन्दा दुई घण्टा उकालो हिँडाएपछि  दुलैन भन्ने स्थानमा राति गोलीको आवाज आएको बताउनुभयो ।  बिहान हेर्दा मृत अवस्थामा भेटिएका रामभुतको शरीरभरि गोलीका घाउ थिए । घाँटी पनि काटिएको अवस्था थियो । परिवारमा तीन जना श्रीमती र ससना भतिजाहरूले शव उठाउन सकेनन् । छ दिनसम्म उहाँको शव त्यही रह्यो ।  

त्यति बेला आफू सानै भएका कारण ठुलो बुबाको शव उठाउन नसकेको सुन्दर सिंहले बताउनुभयो । सातौँ दिन माओवादी पार्टीका नेता कार्यकर्ता आएर त्यही स्थानमा खाल्डो खनेर पार्टीको झन्डा ओढाएर शोक मनाएको उहाँले बताउनुभयो । 

घटनाको छ महिनापछि वार्ताका लागि युद्ध बिराम भयो । त्यही मौकामा उहाँका छोराहरू भारतबाट घर फर्केर रामभुतको शव खाल्डोबाट निकालेर परम्परा अनुसार सदगति गरिएको थियो ।