• ११ मंसिर २०८१, मङ्गलबार

सामाजिक न्यायको प्रत्याभूति

blog

एउटा समय थियो, नेपाली समाजमा राणाशाहीले जनतालाई सताउने गर्दथे । राणाहरूको तानाशाही शासन विरुद्धमा आवाज उठाउँदा धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्द र गङ्गालालहरू शहीद भए । टङ्कप्रसाद आचार्यको सर्वस्वहरणसहित आजीवन जेल चलान गरियो । अति गर्नु अत्याचार नगर्नु भनिन्छ । राणाहरूको अत्याचारको दु:ख सास्ती सहेका शहीदले राणा सरकारलाई भनेका थिए, ‘एक दिन तिमीहरूको पतन हुनेछ र जनताको शासन स्थापना हुनेछ ।’ हो, उनीहरूले भनेको कुरा सत्य साबित हुन धेरै वर्ष लागेन । २००७ सालमा प्रजातन्त्र आयो । जनताको शासन आयो । नेपाली समाजले सुख शान्ति हुने अपेक्षा गरे । विकास र सुशासनको प्रतीक्षा गर्न थाले । 

नेपालमा प्रजातन्त्र आउँदा नेपाली समाजको साक्षरता दुई प्रतिशत मात्र थियो । देशमा पूर्वाधारको विकास भएको थिएन । नेपाली समाजको अपेक्षा थियो, प्रजातन्त्र आएपछि जनताबाट निर्वाचित हुने जनप्रतिनिधिले जनहितमा काम गर्ने छन् । देशमा सुशासन र विकास हुनेछ । भर्खर जन्मिएको प्रजातन्त्रका सञ्चालक नेतागणले २००७ सालदेखि २०१७ सम्मको समयमा जनअपेक्षाअनुसार काम गर्न सकेनन् । बारम्बार सरकार परिवर्तन भई रहे । राजा महेन्द्रले २०१७ सालमा प्रजान्त्रिक सरकारलाई अपदस्त गरी पञ्चायती व्यवस्था लागू गरे । यो पञ्चायती व्यवस्था पनि निरङ्कुश नै थियो । राजाको विरोध गर्न पाइँदैनथ्यो । राजा महेन्द्रको १० वर्षको शासन काललाई राजनीतिक चस्मा खोलेर मूल्याङ्कन गर्दा सुशासन र विकासको दशक थियो भन्ने गरिन्छ । तथापि पूर्ण पञ्चायती व्यवस्थामा आमनेपालीको अवस्थामा खासै भिन्नता आउन सकेन । आशातीत विकास हुन सकेन । 

पञ्चायती व्यवस्थामा पनि नेपाली समाजमा दुःख सास्ती नै सहन बाध्य थियो । प्रजातन्त्रका लागि लडेका व्यक्तिको कथा कहालीलाग्दो थियो । निरङ्कुश राजतन्त्रको विरुद्धमा बोल्न, लेख्न पाइँदैनथ्यो । प्रजातन्त्रका लागि सङ्घर्ष गर्नेहरूको जीवन जोखिमपूर्ण थियो । कोही जेलमा थिए । कतिपयलाई तत्कालीन सरकारले खोजीखोजी कारबाही गर्दथ्यो । अहिले अस्तित्वमा रहेका ठूला दलका नेता गणहरूले प्रजातन्त्रको पुनर्बहाली गर्न ठूलो सङ्घर्ष गरेका थिए । जेल, नेल भोगेका थिए । प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने क्रममा थुप्रै युवाले ज्यान गुमाए । जनकपुर बम काण्ड, झापा, विद्रोह, सुखानी हत्या प्रकरण, टिमुरबोटे हत्या घटना, देउमाई काण्ड,, पिस्कर हत्या प्रकरणलगायतका घटनामा संलग्नले नेपाल आमाका सपुतले ज्यान गुमाए । कतिले जेलनेल सहन बाध्य भए । कतिको सर्वस्वहरण भयो । समाज मनोवैज्ञानिक त्रास र पिछडापनको पीडा व्याप्त थियो । समाजले प्रजातन्त्रका लागि अनवरत सङ्घर्ष गर्न छाडेन । यसै क्रममा २०४६ सालमा जनआन्दोलन भयो । आन्दोलनमा दर्जनौँले ज्यान गुमाए । ठूलो सङ्ख्यामा अपाङ्ग भए । फलतः प्रजातन्त्र पुनर्बहाली भयो । लामो समयको सङ्घर्ष, दुःख सास्ती, कथा, व्यथा पछाडि आएको प्रजातन्त्रले नेपाली समाजमा फेरि हर्ष र उल्लास भित्रिएको थियो । 

समाजको हर्ष र उल्लासका पछाडि देश विकास र सुशासनको अपेक्षा थियो । प्रजातन्त्र पुनस्र्थापना २०४६ पछाडि विकास र समृद्धिको ठूलो सपना थियो । गरिबी, अभाव, अशिक्षा, विभेद र पछौटेपनले थिल्थिलिएको समाजको अन्तर कथालाई बदलेर विकास गर्नुपर्ने गहन जिम्मेवारीलाई तत्कालीन ठूला राजनीतिक दल कांग्रेस र एमालेले निर्वाह गर्न सकेनन् । यी दलले विकास र सुशासन दिन सकेनन् । समाजका जल्दाबल्दा समस्याको उजागर गर्दै २०५२ सालमा माओवादी जन्मियो । उसले सशस्त्र सङ्घर्ष ग¥यो । केही समय समाजले दुःख सास्ती बेहो¥यो । १७ हजार नेपालीले ज्यान गुमाउनुप-यो । हजारौँ घाइते, बेपत्ता, अपाङ्ग तथा घरवारविहीन भए । 

माओवादी सङ्घर्षले नेपाली समाजमा राजनीतिक परिवर्तन भयो । यही आन्दोलनको जगमा राजतन्त्र गयो । गणतन्त्र आयो । देशलाई धर्म निरपेक्ष बनाइयो । सङ्घीयता लागू गरियो । केन्द्रमा रहेको राजनीतिक र प्रशासनिक शक्तिलाई स्थानीय तहमा हस्तान्तरण गर्ने भनी स्थानीय तहलाई स्वायत्त बनाइयो । गाउँगाउँमा सिंहदरबार भनियो । केन्द्रीय, प्रान्तीय र पालिका गरी ७६१ वटा सरकार बनाइयो । आजको सबाल हो, उल्लिखित राजनीतिक परिवर्तनले नेपाली समाजको दुःखान्त कथामा बदलाव ल्यायो त ? समाजको दुःख सास्ती सुख र समृद्धिमा परिणत भयो त ? भएन । बरु देशमा झन् पछि झन् समस्या थपिँदै गए । गरिबी उस्तै छ । बेरोजगारी बढ्दो छ । उत्पादन घट्दो छ । युवा विदेशिएका छन् । शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । गाउँ युवाविहीन भएका छन् । ग्रामीण अर्थतन्त्र कमजोर भएको छ । मुलुकमा न युवापुस्ताले अवसर पायो, न अग्रज नै खुसी छन् न त बालबालिकाले गुणस्तरीय शिक्षा पाउन सकेका छन् । अग्रजपुस्ता पारिवारिक विखण्डन, विदेशिएका छोराछोरी, बाँझिएका खेतबारी र भत्किएका गोठको पीडाले छट्पटाएका छन् । दुःखी छन् । 

समाजमा अशान्ति, पारिवारिक झगडा, हत्या, हिंसा, सम्बन्ध विच्छेद, लागू पदार्थ दुव्र्यसनी, साइबर क्राइमलगायतका समस्या बढिरहेका छन् । सामाजिक मेलमिलाप खस्कँदै छ । मानवता कमजोर भएको छ । राज्यका संयन्त्र जनमैत्री छैनन् । देशले विकासका गति लिन सकेको छैन । राजनीति सत्ता र भागबन्डामा रमाएको छ, भ्रष्टाचार व्याप्त छ । राजनीति नातावाद, आफन्तवाद, चिनजानका आधारमा अवसरको बाँडफाँटमा व्यस्त छ । शिक्षा व्यापार भएको छ । स्वास्थ्य सेवा  सर्वसाधारणको  पहुँचमा छैन । समाजका लागि यो भन्दा दुःख सास्ती के हुन सक्छ ? यही हो त नेपाली समाजले आठ दशकसम्मप्रजातन्त्र, विकास र समृद्धिका लागि लडेर पाएको उपलब्धि ? राज्य र राजनीतिक  नेतृत्वले समीक्षा गर्ने बेला आएको छ ।

अन्त्यमा अहिले आधा दर्जनभन्दा बढी राजनीतिक दलको मिलीजुली सकार बनेको छ । यो सरकारले आमनागरिकले भोगेका तमाम दुःख सास्ती हटाउने दिशामा काम गर्न सकोस् । सर्वसाधारणका गाँस, बास कपास, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गरोस् । महँगीले आकाश छोएको छ, नियन्त्रण गरोस् । अचानोको पिर खुकुरीले बुझ्दैन भनेझैँ अचानोरूपी समाजका पिर व्यथा, अन्तर–कथा र दुःख सास्तीलाई बुझेर काम गर्ने व्यवहार विधि बनाओस् । नागरिकको अभीष्ट देश र जनताका लागि काम गर्न सक्ने सफल नेतृत्वको हो । नागरिकको यो अभीष्ट पूरा गर्न सकोस् । जनचाहना छ, ‘देशमा स्थायी सरकार होस् । रोजगारीका अवसर सिर्जना होऊन् । युवाले विदेशमा श्रम बेच्न नपरोस् । सामाजिक न्याय र विभेदका सीमा साँघुरिँदै जाऊन् । समाजले भ्रष्टाचाररहित राज्य व्यवस्था, सुशासन र चुस्त दुरुस्त सार्वजनिक सेवाको महसुस गर्न सकोस् ।’ उल्लिखित जनचाहना पूरा गर्न यो सरकार सफल भएको देख्न र महसुस गर्न सकियोस् । देश र जनताको जय हुन सकोस् । 

 

  

लेखक बाट थप