रेखीराम राना
पाल्पा, माघ ८ गते । स्वास्थ्य सेवा तथा अन्य सेवाको पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकका लागि ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु गरिएको छ । सरकारले दिने सेवा ज्येष्ठ नागरिकलाई घरमै दिने उद्देश्यले पूर्वखोला गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो ।
ज्येष्ठ नागरिक घर परिवार तथा अन्य निकायबाट समेत उपेक्षित भइरहेका बेला स्थानीय सरकार उनीहरूकै घरमा पुग्ने गरी गाउँपालिकाले कार्यक्रम सुरु गरेको जनाएको छ । पछिल्लो समय घरपरिवारको माया ममता तथा हेरचाहबाट समेत वञ्चित भएका ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक परिचयपत्र नवीकरण, सामाजिक सुरक्षा भत्ता उनीहरूकै घरमा पुगेर वितरण गर्ने गरी कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।
पालिकाले ज्येष्ठ नागरिकको समस्या बुझ्ने, स्वास्थ्य परीक्षण गरेर आवश्यक औषधि तथा परामर्श निःशुल्क दिने कार्य गरेको थापाले बताउनुभयो ।
यसबाट हिँडेर स्वास्थ्य संस्थामा जान नसक्ने, अपाङ्गता भएका तथा अन्य कारणले सरकारको न्यूनतम सेवा लिन नसकेका ज्येष्ठ नागरिक लाभान्वित हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले जानकारी दिनुभयो ।
सरकारले सेवा लिन नसकेका नागरिकलाई घरमै सेवा दिएकोमा पूर्वखोला–४, देवीनगरका ७९ वर्षकी देवकी सारुले खुसी व्यक्त गर्नुभयो । दम र प्रेसरको औषधि लिनसक्ने अवस्था समेत नरहेका नागरिकलाई स्थानीय सरकारको यो अभियानले धेरै राहत मिलेको उहाँले बताउनुभयो ।
पालिकाले सेवा दिनेमा अधिकांश ७५ वर्षदेखि माथिका पाँच सयभन्दा बढी अशक्त ज्येष्ठ नागरिक छन् । यहाँका अशक्त तथा ज्येष्ठ नागरिकलाई हरेक महिनामा स्वास्थ्यसम्बन्धी सेवा घरमै पुगेर दिने व्यवस्था गरिएको पालिकाले जनाएको छ ।