• ८ वैशाख २०८१, शनिबार

बाँचुञ्जेल कलाकारितामा लागिरहनेछु : भट्भटे माइला

blog

काठमाडौं, माघ ८ गते । “आफूलाई हास्य कलाकार भनेर चिनाउन पाउनु नै मेरो जीवनको पहिलो खुसी हो । यसलाई निरन्तरता दिन मैलै अझै मिहिनेत गर्नुपर्छ” । यही सपना बोकेर निरन्तर १४ वर्षदेखि निरन्तर रूपमा मिहिनेत गर्दै हुनुहुन्छ हास्य कलाकार बेगम नेपाली अर्थात् ‘भट्भटे माइला’ ।

उहाँ सानै उमेरदेखि कलाकार बन्ने सपना लिएर उहाँले म्युजिक भिडियोबाट आफ्नो कला यात्रा सुरु गर्नुभएको हो । माग्ने बुढो, धुर्मुसलाई हेर्दै आफू कलाकार बन्ने बाटोमा लागेका बेगमले अहिलेसम्म ७० वटा म्युजिक भिडियो तथा ‘मेरी बास्सै’, ‘भुन्टी, ‘बिर्खे’, ‘रिसानी माफ’जस्ता हास्य टेलिसिरियलमा अभिनय गरिसक्नुभएको छ । 

सानै उमेरमा विद्यालयमा हुने विभिन्न प्रतियोगितामा भाग लिएर हँसाउने गर्नुहुन्थ्यो, बेगमले । यसरी उहाँको यात्रा बिस्तारै रेडियोतिर सुरु भयो । २०६५ सालतिर प्युठानमा रेडियोमा काम गर्ने क्रममा महोत्सव तथा कार्यक्रममा हँसाउन बेगमलाई बोलाइन्थ्यो । 


कक्षा आठदेखि नाटकमा अभिनय गर्न सुरु गर्नुभएका बेगमका अनुसार रेडियोमा क्यारिकेचर गर्दे जाँदा अरु कार्यक्रममा पनि हँसाउन उहाँलाई निम्तो आउँथ्यो ।

उहाँ भन्नुहुन्छ, “पहिले पहिले रेडियो लिस्नेले ‘प्युठाने तारा’ नामक एक कार्यक्रम गरेको थियो । जसमा हास्य कलाकार धुर्मुस र सुन्तलीको पनि सहभागिता थियो । उहाँहरूसँग कार्यक्रम गर्ने क्रममा बेगमको प्रस्तुति ‘धुर्मुस सुन्तली’ले रुचाउनुभयो । यसरी काठमाडौंमा टेलिसिरियल खेल्ने अवसर पाएँ, मैले ।” 

यसरी २०६६ सालमा काठमाडौंमा मेरी बास्सैमा अभिनय गर्दा उहाँ १८ वर्षको हुनुहुन्थ्यो जहाँबाट उहाँको कलाकारिता यात्रा सुरु भयो । 

संयोगले जुरेको नाम भट्भटे माइला 

घरबाट विद्यालय जाने बहानामा बेगम रेडियोमा नाटक गर्न जानुहुन्थ्यो । त्यो समयमा विद्यालयमा आधा छुट्टी लिएर रेडियोमा बेलुकाको कार्यक्रम रेकर्ड जानुपर्ने हुन्थ्यो । 

“विद्यालयबाट भागेर रेकर्ड गर्न जान्थेँ । रेडियो लिस्नेमा लाइभ कार्यक्रममा आफूलाई घर र साथीभाइले नचिनोस् भनेर मैले आवाज र नाम परिवर्तन गरेँ,” उहाँ भन्नुहुन्छ, “यसैबेला आफूलाई भट्भटे माइला भनेर चिनाएँ । यसरी यो नाम संयोगले रहन गयो ।” 

अहिले दर्शकसामु बेगमभन्दा धेरै भट्भटे माइला भन्न पाउँदा आफूलाई गर्व महसुस हुने उहाँ बताउनुहुन्छ ।


दश हजार तिरेर एक भागमा एक सिन 

एकदिन बेगमले टेलिभिजनमा सिरियल हेर्दै गर्दा ‘यदि तपाईँहरू पनि यो सिरियलमा खेल्न चाहनुहुन्छ भने ‘यो नम्बरमा सम्पर्क गर्नुहोला ।’ विज्ञापन देख्नुभयो ।

यसरी बेगम कलाकार बन्ने सपना बोकेर पढाइलाई बीचमै छाडेर भागेर काठमाडौं जानुभयो । पहिलो पटक काठमाडौंमा आउँदा उहाँको जीवन सहज थिएन । घरबाट मागेर ल्याएको पैसा पनि कलाकार बन्ने सपना पूरा गर्नका लागि उहाँले प्रयोग गर्नुभयो । 

उहाँ सम्झिनुहुन्छ, “मैले दश हजार तिरेर एक भागमा एक सिनमा  अभिनय गरेँ । पछि त्यो सिरियल बन्द भयो पैसा पनि फिर्ता आएन ।”

गाउँमा सबैले पैसा डुबायो, कलाकार बन्न गाह्रो छ यसले सक्दैन भन्दै कुरा काट्न थाले । यसकारण मैले जसरी पनि कलाकार बन्नैपर्छ भन्ने मनमा लिएर भौँतारिँदै गर्दा मैले धुर्मुस सुन्तलीलाई भेटेपछि छुट्टै माहौल बन्यो । 

तर ‘मेरी बास्सै’मा मात्रै अभिनय गरेर मेरो घर चलेन । मेरी बास्सैमा पनि हप्तामा एक पटक अभिनय गर्न बोलाउँथे । म त्यो बेला सिक्दै थिएँ ।काठमाडौँमा बाँच्न आफूले चप्पल कारखानामा काम गरेको उहाँ सम्झिनुहुन्छ । ‘सात हजार ५०० तलबमा महिना बिताउन सकिनँ र छाडेँ,’ उहाँले भन्नुभयो । 

यसपछि उहाँले टिचिङ अस्पतालको ब्वाइज होस्टेलमा भाडा माझ्ने काम गरेँ । टिचिङ हस्पिटलकै पोस्टमार्टम गर्ने ठाउँमा मुर्दा कुर्ने काममा सेक्युरिटी गार्डको काम गरेँ । महिनाको आठ हजार ५०० रुपियाँ लिएर काम गर्न थालेँ । रातभर ड्युटी गर्थेँ । त्यहाँ पनि १३ महिनापछि बिदा लिएँ । 

यसरी पढाई र काम दुवैलाई निरन्तरता दिन नसकेका बेगम एनसेलको टुरमा लाग्नुभयो । एक महिनाको ३५ हजार कमाउन थाल्नुभयो । यसले काठमाडौंमा केही दिन बाँच्न पाएँ । 

यसपछि बेगम फेरि भारत पुग्नुभयो । भारतबाट कमाएको पैसाले कलाकारिता गर्ने सोचले मिहिनेत गर्नुभयो । भारतमा भाडा माझ्ने, गाडी धुने काम पनि उहाँले गर्नुभयो । 


‘ममा कलाकारिताको नशा चढिसकेको थियो, तीन महिना रातभर मिहिनेत गरेपछि नेपाल फर्किएँ र बिहे गरेँ,” उहाँ भन्नुहुन्छ, “जिम्मेवारी र आर्थिक समस्याले पिरोल्दै लगेपछि विदेश जाने सोचेँ, ऋण खोजेर मलेसिया जान भिसा लगाएँ तर उमेर कम भएकाले विदेश जान पाइनँ ।” 

कलाकार बन्न भौँतारिरहेका बेगमले पुनः केही वर्षपछि ‘रिसानी माफ’ सिरियलमा अभिनय सुरु गर्नुभयो । कथा लेख्न थाल्नुभयो । काठमाडौंमा बाँच्न सक्छु भने आशा उहाँमा त्यसपछि पलायो ।

‘मेरी बास्सै’सँगै ‘रिसानी माफ’ दुवैमा काम गरिरहेका उहाँलाई मेला महोत्सवबाट समेत निम्तो आउन थाल्यो । लेखन, निर्देशन स्टेज प्रोग्रामलाई निरन्तरता दिँदै गर्दा कोरोना भाइरसको लहर छायो ।


“कोरोना भाइरसका कारण लकडाउन भए पनि अलिकति कमाएको पैसा पनि सकियो,” उहाँ भन्नुहुन्छ, “त्यो समय गाउँ फर्किएर कृषि गर्ने सोचेँ । गाउँमा माछा, कुखुरा, बाख्रा पाल्छु । तरकारी खेती गर्छु र उतै गाउँतिर एउटा सिरियल बनाएर युट्युबमा हाल्छु । यति गरेपछि कलाकारिता पनि रहने कृषिबाट पैसा पनि कमाइ हुने सोचेँ।”

तर उता नगएर काठमाडौंमा तीन भाग १० मिनेटको कार्यक्रम बनाएर युट्युबमा हालेँ र यो दर्शकले रुचाउनुभयो, चल्यो र पैसा आउन थाल्यो । आफूले कल्पना नै नगरेको ‘गाह्रो छ’ दुई शब्दले पुनः बेगमलाई भट्भटे माइला भनेर दर्शकमाझ लोकप्रिय बनायो ।

कला क्षेत्रमा दुःख बुझेका कलाकार नभएको बेगमको अनुभव छ । अग्रज कलाकारले नयाँलाई नगन्ने र नयाँ कलाकारहरुले हामी पनि के कम भन्ने प्रवृत्तिको विकास भएको उहाँ बताउनुहुन्छ । 

उहाँलाई अहिले कलाकार सामाजिक सञ्जालसँग डराउनुपर्ने अवस्था आएको भन्दै भन्नुहुन्छ “सानो विषयमा भाइरल हुन्छन् । यसमा दुःख लाग्छ । ” 

हालै दर्शकले धेरै रुचाएको टेलिसिरयलमा कलाकार बेगम नेपाली र रियाशा दाहालको केमेस्ट्री गज्जबको छ । टेलिसिरियलको कथा र लेखन राम्रो भएकै कारण दर्शकले रुचाएको बेगमको अनुभव छ ।


–टेलिसिरियलमा अभिनय गर्नुहुँदै कलाकारद्वय  बेगम नेपाली (भट्भटे माइला) र रियाशा दाहाल ।

“आफूलाई हास्य कलाकार भनेर चिनाउन पाउनु नै मेरो जीवनको पहिलो खुसी हो । यसलाई निरन्तरता दिन मैले अझै मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ, “मिहिनेत गरेअनुसार मलाई भाग्यले साथ दियो । कलाकारिता यात्रामा सङ्घर्ष गर्दैगर्दा मैले आफ्ना बहिनी, दाइ, दिदी, गुमाएको छु र यो दुः खलाई नै मैले मेरो शक्ति बनाएँ ।”

“म कुनैबेला सिरियलबाट नै हेपिएँ र निकालिएँ । कला क्षेत्र मेरो गरी खाने बाटो हो, बाँचुन्जेल निरन्तर रूपमा यसैमा लागिरहनेछु ।” 

भविष्यमा फिल्म बनाउने सोच लिएर सङ्घर्ष गरिरहनुभएका भट्भटे माइलालाई राम्रो कथा लेखेर ठूलो पर्दामा देखिने सपना छ ।