• १३ असोज २०८१, आइतबार

विकासका लागि प्रदेश सभा साझा थलो : मुख्यमन्त्री रावल

blog

अविनाश चौधरी

धनगढी, माघ ७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभाले साझा थलोको रूपमा काम गर्नेगरेको बताउनुभएको छ ।

प्रदेश सभा दिवसको अवसरमा शनिबार शुभकामना दिनुहुँदै उहाँले प्रदेश सभाले सत्तापक्ष र प्रतिपक्ष सबैका लागि साझा थलोको रूपमा काम गर्ने गरेको बताउनुभएको हो । दिवसको अवसरमा उहाँले प्रदेशवासी जनसमुदाय तथा देश र विदेशमा रहनु हुने सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । 

२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सभाको स्थापना भएको थियो । प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशको स्थापना अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अमूल्य योगदान दिने सबैप्रति मुख्यमन्त्री रावलले सम्मान प्रकट गर्नुभएको छ । 

प्रदेश सभासद्को सर्वोच्च निकाय प्रदेश सभाले नीतिगत रूपमा प्रदेशमा आवश्यक कानुनको तर्जुमा गरी कानुनी प्रदेशको रूपमा प्रदेशलाई स्थापित गर्नेगरेको उहाँको भनाइ छ । प्रदेश सभाले प्रदेशमा सुशासनको प्रत्याभूति गराउने, प्रदेश सरकारलाई आवश्यक निर्देशन दिने, जनताका इच्छा आकाङ्क्षालाई पूरा गर्न सरकारसँग आवश्यक समन्वय गर्ने लगायतका कार्य गर्नेगरेको मुख्यमन्त्री रावलको ठम्याइ छ । 

‘पार्टीगत सिद्धान्त र विषयगत प्राथमिकता फरक फरक भए तापनि सुदूरपश्चिम प्रदेशको दिगो एवम् सर्वाङ्गीण विकासका विषयमा नेतृत्वकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सरोकारवालाहरू एकजुट भई हातेमालो गर्दै अगाडि बढ्नु समयको माग र प्रमुख आवश्यकता रहेको छ’ मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ । 

स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षा र आकर्षणको प्रत्याभूति गर्ने मुख्यमन्त्रीको भनाइ छ ।  ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत आवश्यकताको व्यवस्थालगायत प्रदेशको विविध सामाजिक, आर्थिक र भौतिक विकासका सबै प्राथमिक विषयमा प्रतिपक्ष दलहरूलाई समेत साथमा लिई सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रूपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिबद्धता जाहेर गर्दछु’ मुख्यमन्त्रीले भन्नुभएको छ । 

प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले यस अभियानमा सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले यो कार्यकालमा प्रदेश सभाले ऐतिहासिक सफलता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । 

साथै, पहिलो प्रदेश प्रमुख, पहिलो प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरू, प्रदेश सभा सचिवालय, निवर्तमान सरकारसहित सबैमा मुख्यमन्त्री रावलले धन्यवाद ज्ञापन गर्नु भएको छ ।