• ११ मंसिर २०८१, मङ्गलबार

हवाई यात्राको विश्वसनीयता

blog

माघे सङ्क्रान्तिका दिन अर्थात् यही १५ जनवरी २०२३ का दिन यती एयरलाइन्सको विमान दुर्घटना भयो । उक्त दुःखद घटनामा ५३ जना नेपाली र १५ जना विभिन्न देशका विदेशी नागरिकसहित ७२ जना मानिसले अकालमा मृत्युवरण गर्नु प-यो । त्यो अकल्पनीय त हो नै अनि त्यो ठूलो चिन्ता, भावुक र संवेदनशील विषय पनि हो हुन त नेपालमा यो पहिलो र ठूलो दुःखद दुर्घटना भने होइन । यद्यपि आन्तरिक उडानको यो अहिलेसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना भने अवश्य हो । यद्यपि वितेको २३ वर्षयता देशमा यस्ता ठूला साना १७ वटा विमान दुर्घटना भइसकेका छन् । त्यस्ता दुर्घटनामा परेर तीन सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । तिनबाट हामीले उचित शिक्षा लिएर सम्बन्धित सबै क्षेत्रमा आवश्यक सुधार, सतर्कता र सावधानी अपनाउनु सबैभन्दा महत्वपूर्ण हो ।

यस प्रकारका अकल्पनीय दुर्घटनाका लागि के हामीले बिगँ्रदो मौसम, चुनौतीपूर्ण पहाडी धरातल भनेर मात्र छुट्टी लिन मिल्छ ? के मानिसको सुरक्षित यात्रासँग गाँसिएका यस्ता विमानको आयु, अवस्था, विमान चालकको अनुभव र विमान रेखदेखको स्थिति, विमान खरिद गर्दा दिनुपर्ने आवश्यक ध्यान आदि विषयमा कुशल जिम्मेवारी निर्वाह गर्ने कुरामा उचित ध्यान दिनुपर्ने हो कि होइन ?

हुन त यती एयरको यो पछिल्लो दर्दनाक दुर्घटनाका कारण ठूलो पीडाको वातावरणबाट यतिबेला देश गुज्रिरहेको छ । त्यस दुर्घटनामा स्वदेशी ५३ र विदेशी १५ जना मानिसको जीवन लिला एकै चिहान भएर समाप्त भएको छ । केही क्षणअघिसम्म विमानमा सवार स्वदेशी तथा विदेशी यात्री विमान यात्राको जुन आनन्द लिइरहेका थिए एकै क्षणपछि ती एकाएक विमानको आगोको लपेटामा कसरी परेर स्वाहा भए, सम्बन्धित सबै पीडित परिवारजन तथा अरू देख्ने सुन्नेको मनमा पनि यो प्रश्न उठेको छ, स्वाभाविक रूपमा उठ्ने नै भयो ।

हुन त यस्ता विमान दुर्घटनामा मौसमको खराबी, प्राविधिक गडबडी, पाइलटको लापरबाही, असावधानी आदि भनेर प्रायः यस्ता सबै दुर्घटनाका बेला चर्चा चल्ने चलाउने गरिन्छ । यस्ता दुर्घटनाको यथार्थ कारण त विमानको ‘ब्ल्याक बक्स’ को छानबिन गरेपछि नै थाहा हुने कुरा हो । यद्यपि प्रायजसो पहाडी इलाकामा हुने विमान यात्राका बेला मौसमको खराबीले गर्दा दुर्घटना भएको ठहर गर्ने गरिन्छ । यो यती विमानको काठमाडौँ–पोखरा उडानको बेला मौसम सफा रहेको सम्बन्धित सबैले बताएका छन् । 

अनुकूल मौसमको अर्थ विमान उड्ने बेला त्यो जहाज उडान मार्गको दृश्य प्रष्टता (भिजिबीलिटी) कस्तो रहेको थियो भन्ने कुरा हो । बदली या हुस्से लागेको थियो कि थिएन, थियो भने कस्तो थियो, वर्षा भइरहेको र बिजुली चम्किरहेको अवस्था थियो÷थिएन भन्ने कुरालाई हेरिन्छ । यी नै कुराको स्थितिले विमानमा विक्षोभ या सन्त्रास पैदा गर्ने गर्छन् । विमानमा कुनै प्राविधिक कमजोरी या गडबडी नभएको र विमान चालक (पाइलट) अनुभवी भएको अवस्था छ भने सानातिना दुर्घटनाबाट यात्री सहजै जोगिन पाउँछन् ।

नेपालको यो विमान दुर्घटनाको भिडियो हेरेर अस्ट्रेलियाका विमान विशेषज्ञ जेअफ थोमसले प्राविधिक गडबडी र विमान परिचालकले नियन्त्रण गुमाएको स्थितिको मिश्रणको अनुमान लगाएका छन् । विस्फोट हुनुभन्दा पहिला त्यो विमान आकाशमा असन्तुलित भइरहेको देखिन्थ्यो । त्यसबाट प्रस्ट हुन्छ विमानमा कुनै न कुनै प्राविधिक गडबडी अवश्य थियो । जे कारण भए पनि ब्ल्याक बक्सको परीक्षणले बताउने कुरा माथि नै पनि भनिसकियो । यो घटनापछि नेपाल सरकारले हतारहतारमा पहाडी क्षेत्रमा उडान भर्ने सबै जहाजको प्राविधिक जाँचबुझलाई अनिवार्य तुल्याएको छ । यसले के प्रश्न उठाउँछ भने के यो दुर्घटनाभन्दा पहिला यस्तो जाँचबुझको व्यवस्था थिएन ? यस्तो जाँचबुझ गरिने गरेको थिएन र प्राविधिक गडबड हुँदाहुँदै पनि विमान उडाउन दिइन्थ्यो भने त्यस स्थितिको जिम्मेवार को हो ? के दुर्घटना भएको विमान र त्यसमा जडान गरिएका आवश्यक यन्त्र र उपकरणको समय समयमा उचित रेखदेख र जाँच भइरहेको थियो ? के यो यती विमान सञ्चालकले विमानको आवश्यक रेखदेखलाई गम्भीरतापूर्वक लिने गरेको थियो ? अनि विमान उड्डयन प्राधिकरणले यस्तो रेखदेख ठीकसँग भए÷नभएको जाँचबुझ गर्ने गरेको थियो कि थिएन जुन मामुली खराबी पछि गएर यस्तो दुर्घटनाको कारक बन्यो ? यस्ता प्रश्न उठ्नु र तिनको सत्यतथ्य प्रकाशमा ल्याउन माग गर्नु सर्वथा उचित छ ।

घटनापछि नेपाल सरकारले यसको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएर त्यसलाई ४५ दिनको समय दिएको छ । दुर्घटनाग्रस्त एटीआर विमान बनाउने कम्पनीको एउटा टिम पनि काठमाडौँ आइसकेको छ । यसले पनि यो छानबिन समितिलाई सहयोग गर्नेछ । छानबिनपछि सबै यथार्थको खुलासा हुने सर्वत्र अपेक्षा छ । 

हाम्रोजस्तो पहाडी इलाकामा हवाई उडानका लागि विमान परिचालक (पाइलट) लाई विशेष र सही तालिम र प्रशिक्षण दिन असमर्थ रहेको अवस्था छ भने त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग पनि लिने गरिन्छ । इन्टरनेसनल फाउन्डेसन अफ एभिएसन, यरोस्पेस तथा ड्रोनका समेत अध्यक्ष रहेका सनत कौशलका अनुसार विश्वभर नै यस्ता कैयौँ संस्था छन्, जसले हवाई उड्यनसम्बन्धी आवश्यक तालिम तथा प्रशिक्षण दिने गर्छन् । यस्ता संस्थासँग पनि यो दुर्घटनाको कारणको छानबिन गराउन सकेमा त्यो बढी वैज्ञानिक र विश्वसनीय बन्न सक्ला । विमान दुर्घटनाको अर्को कम चर्चा हुने कारण पाइलटको थकान पनि हो । यसको बारेमा निकै कम मात्र उल्लेख हुने गर्छ भन्ने जानकारहरू औँल्याउँछन् । थाकेका पाइलटलाई उडान भर्न लगाइन्छ भने त्यसले अनेक आशङ्का जन्माउँछ नै । त्यसले निर्दोष विमान यात्रीको जीवनमाथि खेलबाड हुने खतरा पैदा हुन्छ । अनि विमान खरिदमै कुनै सेटिङ, अनुचित सम्झौता र भ्रष्टाचार त भएको छैन, जसले गर्दा कमजोर स्थितिको विमान खरिद गरिएको होस् र यो पनि एउटा गम्भीर विषय हो । किनभने यो विमान सञ्चालनलाई एउटा नाफाको व्यापार पनि मानिने गर्छ । 

कृषिपछि पर्यटन हाम्रो अर्थतन्त्रको महìवपूर्ण पक्ष भएको कारणले हाम्रोजस्तो बढी पहाडी भू–धरातल भएको मुलुकमा हवाई यातायातको ठूलो आवश्यकता र औचित्य पनि छ । किनकि आजको व्यस्त संसारमा यो द्रुत यातायातबिना अगाडि बढ्न पनि सकिँदैन । त्यसैले यसलाई चुस्त, दुरुस्त र सही किसिमले सञ्चालका लागि विमान खरिददेखि लिएर, यसको स्याहार सम्भार, नियमित रेखदेख र जाँचबुझ तथा पाइलट प्रशिक्षण तालिम र तिनको आरामजस्ता ठूला–साना सबै कुरामा आवश्यक सतर्कता र सावधानीको शतत् सही व्यवस्थापन भइरहेको छ कि छैन निरन्तर गम्भीर अनुगमनको आवश्यकता छ । यसो गर्न सकेमा मात्र यस्ता दुर्घटनामा परेर राष्ट्र र जनतालाई पुग्ने अकल्पनीय धनजनको क्षतिबाट जोगाउन पनि सकिन्छ र सुरक्षित हवाई यात्राको विश्वसनीय अनूभूति पनि गराउन सकिन्छ ।