• १३ असोज २०८१, आइतबार

भीर फोडेर सडक चौडा बनाउने काम तीव्र

blog

सलिम मियाँ

बिजुवार, माघ ५ गते । डरलाग्दो चट्टानी भीर । साँघुरो र घुम्ती सडक । सडक साँघुरो हुँदा सवारी साधन आउजाउमै मुस्किल । एकातर्फ पहाड र अर्कोतर्फ भीर भएकाले यो सडकमा हिँड्नै डरमर्दो छ ।

पहाडको खोंचमा रहेको प्युठानको बड्डाडा चकचके जोड्ने सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौं यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ । 

तर, अहिले प्युठानको बड्डाडा चकचके सडक खण्डको गर्जेनी भीर फोडेर सडक फराकिलो बनाउने गरी काम सुरु भएको छ।

डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख वीरेन्द्रबहादुर चन्दले गर्जेनी र आसपासका भीर फोडेर सडक चौडा बनाउने गरी काम सुरु भएको जानकारी दिनुभयो ।

गएको पुस २८ गतेबाट प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द गरेर सडक बिस्तारको काम भइरहेको चन्दले बताउनुभयो।

भीरको चट्टान काटेर सडक फराकिलो बनाउने जिम्मा आंसु लेकाली जेभीले पाएको छ । चार मिटर चौडा रहेको उक्त सडक अब आठ मिटर फराकिलो बनाइने डिभिजन सडक कार्यालय, प्युठानले जानकारी दिएको छ।