• १२ साउन २०८१, शनिबार

एमाले अध्यक्षको भनाइले सङ्घीयता खतरामा परेकाे जस्तो छः सांसद निधि

blog

प्रतिनिधिसभामा आफ्नो धारणा राख्नुहुँदै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधि । तस्बिर : रासस

गाेरखापत्र अनलाइन

काठमाडाैँ, माघ ५ गते । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताउनुभयो ।

उहाँले संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताउनुभयो । उहाँले ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको बताउनुभयो । उहाँले उहाँले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताउनुभयो । सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताउनुभयो ।

‘प्रतिनिधि सभाको सभामुखका लागि उहाँ नयाँ व्यक्ति हुनुहुन्न । उहाँ सबैभन्दा योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व हुनुहुन्छ । संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले नीति निर्देशन दिन मिल्छ र ? हामी झस्केका छौँ । जनता झस्केका छन् । प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । उहाँले भन्नुभयो, बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा सङ्घीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ । हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ । विपक्षीले विश्वासको मत दिँदा खुशी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्व ? प्रतिस्पर्धालाई प्रतिशोधको भावनाले हेर्नुहुँदैन ।’

सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताउनुभयो । उहाँले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसद्को पूर्ण आयु हुनुपर्ने बताउनु भयो ।