• १३ असोज २०८१, आइतबार

सुविधासम्पन्न बसपार्क निर्माण गरी नगरपालिकालाई हस्तान्तरण

blog

मलङ्गवाको नवनिर्मित बसपार्क । तस्बिर - जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ ५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ । नगरपालिकाको वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधासम्पन्न बसपार्क निर्माणको काम पूरा भई हस्तान्तरण भएको हो ।

बसपार्क निर्माणको काम सकिएपश्चात् सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम, धनुषाका प्रमुख प्रदीप खनालले मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवलाई बसपार्कको साँचो हस्तान्तरण गर्नुभएको छ । 

राम कविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कन्काई इन्टरनेशनल बिल्डर्स सुरुङ्गा, झापाले आठ करोड ३१ लाख रुपियाँ लागतमा बसपार्क निर्माणको काम पूरा गरेको हो । 

बसपार्कमा अढाईतले टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतीक्षालय, वर्कशप क्षेत्र, पार्किङलगायतको सुविधा रहेको निर्माण कम्पनीले जनाएको छ । नवनिर्मित बसपार्कमा तत्काल ५२ वटा ठूला र २० वटा साना सवारी पार्किङ गर्न सकिन्छ । 

नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बसपार्क निर्माणले नगरलाई व्यवस्थित बनाउन टेवा पुगेको बताउनुभयो । यसले नगरको विकासमा समेत मद्दत पुगेको नगरप्रमुख यादवको भनाइ छ । 

नगरपालिकाले कार्यविधि बनाएर चाँडै नै नवनिर्मित बसपार्क संचालनमा ल्याउने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो । बसपार्कको नगरप्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत गौतम, मलङ्गवा २ का वडाध्यक्ष धीरेन्द्र साह, प्राविधिक र अन्य कर्मचारीको टोलीले अनुगमन गरेको छ । 

मलङ्गवामा हाल वडा नं. ९ मा रहेको पुरानो बसपार्क अत्यन्तै साँघुरो र अव्यवस्थित छ । बस व्यवसायीले सुरुमा अहिले निर्माण भएको बसपार्क टाढा पर्ने भएकाले त्यहाँ बस लान इन्कार गरे पनि अहिले भने उनीहरु पनि नयाँ बसपार्कबाटै बस सञ्चालन गर्न सहमत भएका छन् । 

मलङ्गवा यातायात सेवा प्रा.लिका अध्यक्ष राजिव यादवले आफूहरु नयाँ बसपार्कबाट बस सञ्चालनका लागि तयार रहेको बताउनुभएको छ । बसपार्क सञ्चालन कार्यविधिका सम्बन्धमा नगरपालिकासँग छलफलमै रहेको उहाँले बताउनुभयो ।