• ८ वैशाख २०८१, शनिबार

बधाई डा. रुइत

blog

मानिसको अहोरात्र मेहनत, लगनशीलता तथा कामप्रतिको प्रतिबद्धता नै सफलताका कारक हुन सक्छ । फलको आस नगरी कर्म गरिरहँदा एक दिन वा एक समय सो कर्मको निश्चित रूपमा सर्वत्र प्रशंसा हुन्छ, हुने रहेछ । यसैको अब्बल उदाहरणका रूपमा प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई लिन सकिन्छ । ताप्लेजुङजस्तो विकट पूर्वी पहाडी जिल्लाको ओलाङचुङ्गोलामा ६८ वर्षअघि सामान्य परिवारमा जन्मिनुभएका डा. रुइत आफ्नो मेहनत, लगनशीलता तथा समाजप्रतिको सेवाका कारण आज नेपाल मात्र नभई विश्वप्रसिद्ध आँखारोग विशेषज्ञमा चम्किनुभएको छ । यो उहाँको व्यक्तिगत उपलब्धि मात्र नभई नेपाल र नेपालीका लागि समेत गौरव र हर्षको विषय बनेको छ । उहाँले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनुभएको छ ।

 

सात दशकअघिको ताप्लेजुङ, त्यसको पनि ओलाङचुङ्गोला, अति दुर्गम । बिजुलीबत्ती, विद्यालय, स्वास्थ्य सेवा वा सञ्चार सम्पर्कका कुनै आधुनिक सुविधा नै थिएन । परिवारको शिक्षाप्रतिको प्रतिबद्धता र आफैँ मेहनतबाट उहाँ शिक्षामा अगाडि बढ्नुभयो । दार्जिलिङ र काठमाडौँमा प्रारम्भिक शिक्षापछि चिकित्सा शिक्षाको अध्ययन गर्नुभएका रुइतले वीर अस्पतालमा चिकित्सकका रूपमा समेत सेवा गर्नुभयो । त्यसपछि भारतबाट आँखारोगमा विशेषज्ञता हासिल गरिसकेपछि त्रिपुरेश्वरको आँखा अस्पताल उहाँको मूल पेसागत थलो बन्यो । यसै क्रममा डा. रुइतलाई ३६ वर्षअघि अस्ट्रेलियामा आँखा रोगको क्याट्याक्ट सर्जरी अध्ययनको मौका मिल्यो । त्यो उहाँको जीवनको निकै महत्वपूर्ण समय थियो । यसपछि अमेरिका तथा नेदरल्यान्डस्को अध्ययनले विशेषज्ञतालाई अझै तिखार्ने मौका उहाँलाई मिल्यो । अस्टे«लिया अध्ययनकै क्रममा उहाँ तथा उहाँका सहकर्मीद्वारा विकसित निकै सस्तो इन्ट्कुलर लेन्स प्रविधि अहिले विश्वका ६० भन्दा बढी देशमा प्रचलित छ । यही प्रविधि अहिले विश्वभरका मानिसलाई सस्तो तथा सहज रूपमा दृष्टि प्रदान गर्न सफल भएको छ । 


डा. रुइतको पद्धति अमेरिकी मेडिकल कलेजमा समेत पढाइन्छ । एउटा नेपालीको यो उपलब्धि वास्तवमै गौरवलायक छ । काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पताललाई नेपालमा मात्र नभई विशेष गरी सार्क क्षेत्रमा अब्बल आँखा अस्पतालका रूपमा चिनिन्छ । यसको मूल श्रेय डा. रुइतलाई जान्छ । उहाँ तथा उहाँका अस्ट्रेलियाली सहकर्मीको प्रयासस्वरूप स्थापित यो अस्पतालका कारण हजारौँ हजारले आफ्नो दृष्टि पाएका छन् । संसारलाई हेर्ने, देख्ने मौका पाएका छन् । डा. रुइत बेलाबखतमा स्वदेश तथा विदेशमा समेत आँखा शिविर सञ्चालन गरेर आँखा रोगीलाई सेवा प्रदान गर्दै आउनुभएको छ । सस्तो तथा सहज ढङ्गले मानिसलाई दृष्टि प्रदान गर्न सफल डा. रुइतलाई अहिले ‘दृष्टिका भगवान्’ का रूपमा पनि पुकारिन्छ । यो उहाँको कर्मले जुराएको उपनाम हो भन्दा फरक पर्दैन । 


विश्वभर चर्चित डा. रुइत नेपालले वास्तवमै गौरव गर्न सक्ने केही थोरै व्यक्तित्वमा पर्नुहुन्छ । उहाँको यिनै योगदानस्वरूप स्वदेशका साथै म्यागासेसेपुरस्कारसहित अस्ट्रेलिया, थाइल्यान्ड, भुटान, भारतका महत्त्वपूर्ण तथा उच्च सम्मान र पदकबाट सम्मानित भइसक्नुभएको छ । अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानको यही कडीमा डा. रुइतलाई बहराइन सरकारले मानव सेवाका लागि हरेक दुई वर्षमा प्रदान गरिने इसा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार राशि १० लाख अमेरिकी डलरको छ । यो सम्पूर्ण नेपालीका निम्ति गौरवको विषय बनेको छ । बहराइनका पूर्वराजा सेख इसा विन सलमान अल खलिफाका नाममा स्थापित यो सम्मान विश्वभर मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई प्रदान गर्ने गरिन्छ । कोभिडका कारण यो सम्मानका अघिल्ला शृङ्खलाहरू स्थगित गरिएका थिए । 


मोतीबिन्दुको शल्यक्रिया गरेर एसिया तथा विश्वका करिब दुई लाख मानिसलाई दृष्टि दिन सफल भएकोमा डा. रुइतलाई स्वर्ण पदकसहित १० लाख अमेरिकी डलरको यो सम्मानले आगामी महिना सम्मान गरिँदैछ । १० लाख डलर अर्थात् १३ करोड रुपियाँको यो सम्मानका निम्ति विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ ) फाउन्डेसनलगायत १३९ व्यक्ति तथा सङ्घसंस्था मनोनयनमा थिए । हालसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सर्वाधिक धनराशिको यो प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल हुनुभएकोमा डा. रुइतलाई हार्दिक बधाई । उहाँकै भनाइजस्तै यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु व्यक्तिगत मात्र नभई समग्र राष्ट्रको गौरवको विषय भएको यहाँ उल्लेखनीय छ । यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारका प्रोत्साहनबाट डा. रुइतमा अझै विश्वभरका मानवका कल्याणका निम्ति उत्कृष्ट कदम थप अग्रसर होऊन्, हार्दिक शुभेच्छा शुभेच्छा ।