• १२ साउन २०८१, शनिबार

सभामुख पदमा दुई जनाको उम्मेदवारी

मेरो जित्ने आधार सांसद हुन्, जित्नेमा विश्वस्त छु : उम्मेदवार न्यौपाने

blog

सभामुख पदमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका सांसद ईश्वरी देवी न्यौपाने । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ ४ गते । सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखका लागि नेकपा (एमाले) का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी देवी न्यौपानेले उम्मेदवारी दिनुभएको जानकारी दिनुभयो ।

बुधबार निर्वाचन कार्यसूची अनुसार एमाले सांसद घिमिरे र कांग्रेस सांसद न्यौपानेले नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर उम्मेदवार दर्ता गर्नुभएको हो ।

सांसद घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ भने समर्थनमा नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हुनुहुन्छ ।


त्यस्तै, कांग्रेस सांसद न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा, समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला हुनुहुन्छ ।

मेरो जित्ने आधार सांसद हुन्, जित्नेमा विश्वस्त छु : उम्मेदवार न्यौपाने

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सभामुखका उम्मेदवार न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभएको छ । सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको भनाइ उम्मेदवार न्यौपानेको छ ।

उहाँले आफ्नो लागि जित्ने आधारहरू भनेकै प्रतिनिधि सभाका सदस्यहरू भएको बताउनुभयो । निर्वाचन अघिसम्म आफू कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको सभामुखको रूपमा काम गर्ने उहाँको भनाइ छ । न्यौपानेले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रूपमा रहेर सांसद र संसदप्रति न्याय गर्ने बताउनुभयो ।

‘‘संसद्लाई सभामुखको आवश्यकता पर्दछ । त्यो सभामुख निर्वाचनमार्फत हुन्छ । त्यही प्रक्रिया अनुसार मैले उम्मेदवारी दिएकी हुँ । निर्वाचनमा हारजित हुन्छ । निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । म यो निर्वाचनमा पक्कै जित्छु । मेरो जित्ने आधारहरू सांसदको मत हो ।,’’ न्यौपानेले भन्नुभयो, ‘‘निर्वाचनअघि म नेपाली कांग्रेसको नेता हो । सभामुखमा निर्वाचन भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रूपमा रहेर सांसद र संसदप्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद् चलाउँछु ।’’

उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । उहाँलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

ईश्वरी न्यौपाने वर्तमान संसद् सम्हाल्नसक्ने सभामुख हुनुहुन्छ : महामन्त्री शर्मा

कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले कांग्रेसबाट सभामुख पदको उम्मेदवार बन्नुभएकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति भएको बताउनुभएको छ ।

बुधवार कांग्रेसबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारीका लागि प्रस्तावकको रूपमा संसद् भवन पुग्नुभएका महामन्त्री शर्माले अहिलेको संसद्का लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गर्नुभएको हो ।

उहाँले कांग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरूलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्नुहुँदै यस पटक कांग्रेसबाट उम्मेदवार बन्नुभएको न्यौपानेलाई अन्य दलहरूले सभामुखमा जिताउनुपर्ने बताउनुभयो । शर्माले सभामुख उम्मेदवार न्यौपानेमा शालीनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सुसूचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले मन्त्रालयको कुनै पनि भागवण्डामा कांग्रेस सहभागी नबन्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवार रूपमा अघि बढ्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस