• १२ साउन २०८१, शनिबार

सभामुख पदमा एमाले सांसद घिमिरेद्वारा उम्मेदवारी दर्ता

blog

सभामुख पदमा एमाले सांसद घिमिरेद्वारा उम्मेदवारी दर्ता गरिँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ ४ गते । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो ।

सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थन छ ।


सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । त्यस्तै, आजै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूची छ ।

माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै, उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।