लक्ष्मण पौडेल
भैरहवा, माघ ३ गते । विदेशी पर्यटकले नेपाल बसाइका क्रममा विभिन्न तरिकाले यहाँ छाडेका विदेशी मुद्राको सटहीसम्बन्धी व्यवस्थापन हुन नसक्दा त्यस्तो मुद्रा बेकामे बन्ने गरेको छ । पर्यटकीय तथा धार्मिक स्थलमा दान तथा अन्य हस्तान्तरणमार्फत प्राप्त त्यस्ता मुद्राको नेपालमा सटही सुविधा प्राप्त नहुँदा ती मुद्रा मूल्यहीन बनेर थन्किएका हुन् ।
देशका विभिन्न पर्यटकीय तथा धार्किक तीर्थस्थलका दानपेटिकामा पर्यटकले आफ्नै देशका मुद्रा राखिदिन्छन् तर दानपेटिका व्यवस्थापन गर्ने निकायले राष्ट्र बैङ्कबाट समेत साट्न नपाउँदा त्यसै थन्काएर राख्ने गरेका छन् । यस्तो मुद्रा पर्यटकीय स्थल लुम्बिनी, पोखरा, मुस्ताङदेखि जनकपुर मन्दिरलगायतका क्षेत्रका दानपेटिकामा भेटिने
गरेका छन् ।
लुम्बिनी क्षेत्रमा मात्रै ३९ विभिन्न देशका मुद्रा सटही नभएर थन्क्याएर राखिएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषले डलर मूल्यका आधारमा मूल्याङ्कन गर्दा त्यस्तो रकममा मात्रै अहिले एक करोड १७ लाख ९५ हजार ९६६ रुपियाँ बराबर पुगेको छ । यो आर्थिक वर्ष २०७१/७२ देखिको मात्र हिसाब हो ।
नेपाल राष्ट्र बैङ्कले नेपालमा २० विभिन्न देशका मुद्राको सटही दर निर्धारण गरेको हुन्छ तर ती बाहेकका देशका पर्यटकले दानपत्रमा हालेका मुद्राको सटही सुविधा प्राप्त हुँदैन । राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो समस्याको समाधान त्यति सहज भने छैन । “यो विषयमा यस्तै हुन्छ भन्ने कुनै टुङ्गै छैन, राष्ट्र बैङ्कले ती मुद्रा लिएर पनि मुद्रावाहक मुलुकले लिने/नलिने उसको इच्छामा भर पर्छ,” उहाँले भन्नुभयो, “तै पनि संस्थागत पहल भएमा केही समाधान निस्कन सक्ला ।”
लुम्बिनी विकास कोषले दानपेटिकामा रहेको चलनचल्तीका मुद्राहरू सटही गरे पनि चल्नचल्तीमा नरहेका नोट सटही नगरिदिएकाले ३९ देशका मुद्रा विकास कोषले सञ्चित गरेर राखेको कोषका कोषाध्यक्ष सद्धिचरण भट्टराईले जनाउनुभयो ।
दानपेटिकाबाट सङ्कलित रुपियाँमध्ये सबैभन्दा बढी म्यान्मारको ७३ लाख ४८ हजार १५८ नेपाली रुपियाँ रहेको छ । त्यस्तै ओमनको १७ लाख ७९ हजार, श्रीलङ्काको आठ लाख एक हजार, पेरुको छ लाख ५१ हजार, भियतनामको चार लाख ९८ हजार, इन्डोनेसियाको दुई लाख ७० हजार, कम्बोडियाको एक लाख ९० हजार नेपाली रुपियाँ बराबरको रहेको छ । यीबाहेक भुटान, मङ्गोलिया, बङ्गलादेश, लाओस, पाकिस्तान, अर्जेन्टिना, अफगानिस्तान, मौरिसस, युगान्डा, इरानी, इराक, स्विडेन, रसियालगायतका मुद्रा पनि सङ्कलन भएका छन् ।
“राष्ट्र बैङ्कले खरिद–बिक्री गर्ने मुलुकको सटही हुने मुद्रा रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने बैङ्कमा पठाउने गरिएको छ,” कोषाध्यक्ष भट्टराईले भन्नुभयो, “सटही नहुने रकमको विवरण र अभिलेख बनाइराखेका छौँ । सटही नहुँदा कतिपय कुहिने अवस्थामा पुगेका छन् ।”
यस्तो मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्कमा पटकपटक पत्राचार गरे पनि आवश्यक चासो नदिएको उहाँले बताउनुभयो तर नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाखर भट्टले भने कोषले औपचारिक रूपमा यो विषयमा राष्ट्र बैङ्कसँग परामर्श गरेमा समाधान निस्कन सक्छ । हाम्रो सूचीभन्दा बाहिरका नोट सबै स्थानमा सटही नहुन सक्छ,” उहाँले भन्नुभयो, “औपचारिक प्रस्ताव हामीकहाँ आएमा कुनै समाधान निकाल्न सकिएला ।”
राष्ट्र बैङ्क प्रादेशिक कार्यालय सिद्धार्थनगरका सहायक निर्देशक रमेश न्यौपानेले साट्न मिल्ने मुद्रा यहीँ साटे पनि चलनचल्तीबाहेकका मुद्राहरू केन्द्रीय कार्यालय काठमाडौँ पठाएर कलेक्सनका लागि पठाउन सकिने बताउनुभयो । “हामीले यहाँ सटही गर्न नसके पनि मुद्रा सटहीका लागि अब केन्द्रमा अनुरोध गर्छौं,” उहाँले भन्नुभयो ।