• ८ वैशाख २०८१, शनिबार
blog

काठमाडौँ, माघ ३ गते । मन्त्रिपरिषद् विस्तार मङ्गलबार हुने भएको छ । सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि मङ्गलबार नै शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको हो । राजनीतिक संयन्त्रको बैठकअघि मन्त्रालय बाँडफाँटको विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालकोटस्थित ओली निवासमा बिहानैदेखि छलफल भएको थियो । बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय बाँडफाँट सकिएको र मङ्गलबार दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय भएको बताउनुभयो । उहाँका अनुसार त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको छ । 

उहाँले भन्नुभयो, “सोमबारको बैठकमा कुन–कुन पार्टीले कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा तय ग¥यौँ । मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ । मङ्गलबार दिउँसो एक बजे शपथग्रहणको कार्यक्रम छ । राष्ट्रपतिलाई जानकारी पनि गराइसकेका छौँ । यहाँ भएको निर्णय आ–आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै सार्वजनिक गरिने छ ।” 

उहाँका अनुसार सरकार समर्थित नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा नआउने भएका छन् । “लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन सरकारलाई छ तर उहाँहरू आउने (मन्त्रिपरिषद्मा समावेश हुने) सम्भावना देखिएको छैन,”  उहाँले भन्नुभयो ।

कुन दलले कुन–कुन मन्त्रालय पाए भन्ने प्रश्नमा मन्त्री लामिछानेले सहमतिमा पुग्यौँ तर पार्टीभित्र एक पटक सल्लाह गरौँ, अन्तिम चरणमा कुनै फेरबदल हुनसक्छ, त्यसैले मङ्गलबारै सार्वजनिक गर्ने तय भएको हो भन्नुभयो । जनता समाजवादी पार्टीले दुई मन्त्रालय मात्रै पाए सरकारमा सहभागी नहुने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले सम्मानजनक मन्त्रालय बाँडफाँट नभएकाले सरकारमा सहभागी हुन नसकिने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले शपथग्रहणसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गर्नुभएको थियो । बिनाविभागीय मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान नियुक्त हुनुभएको थियो । 

सत्ता साझेदार दलहरूबीच रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्‍चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति जुटेको छ । 

प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मङ्गलबार नयाँ मन्त्री नियुक्त हुनुहुनेछ ।

सर्वदलीय बैठक आजै

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक मङ्गलबार अपराह्न चार बजे आह्वान गर्नुभएको छ । मन्त्री लामिछानेका अनुसार मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्नेछ ।