नारद कोहार
तौलिहवा, माघ १ गते । थारु समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि कपिलवस्तु नगरपालिका ६ सगरहवा लगायत जिल्लाको बुद्धभुमि, शिवराज र बाणगंगामा महोत्सव आयोजना गरिएको छ ।
थारु कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले सगरहवामा दोस्रो थारु माघी महोत्सव आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने महोत्सवको उदघाटन सत्रमा महिला र पुरुषहरू आफ्नो भेषभुषामा सजिएर आएका थिए । पुरुषभन्दा महिलाहरू आफ्नो छुट्टै पहिचान र पोसाकमा सजिएर आएका थिए ।
उनीहरूले घाँटीमा हसुली, कम्मरमा कर्धन लगाई खुट्टामा कारा लगाएका थिए । कानमा झुम्का र नाकमा नथुनीले पनि उनीहरूको कला संस्कृति झल्कन्थ्यो । यस्तै, अन्य कतिपय थारु महिला छैकल, बाजु, बहुमहुची र माला लगायतका गर गहनामा सजिएका थिए ।
माघी महोत्सवमा आमन्त्रितलाई थारुहरूको खानाको विशेष परिकार प्रदर्शनमा राखिएको छ । महोत्सवमा लोप हुन लागेका झुमरा नाँच, मयूर नाँच, लठ्ठी नाच, झर्रा लगायतको कलाको संरक्षण गर्न महोत्सव आयोजना गरिएको कार्यक्रमका सहसंयोजक सोहन थारुले बताउनुभयो ।
महोत्सवमा प्रस्तुत गरिएको थारु कला संस्कृतिबारे थारु समुदायलाई जानकारी मिल्ने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले बताउनुभयो । पर्वले एक आपसमा सद्भाव कायम राख्ने उहाँले बताउनुभयो ।