• १३ असोज २०८१, आइतबार

हडबडमा घोडा दौडाउँदै

blog

वि.सं. २०३४ असार ९ गतेको दिन । पहिलेजस्तै त्यस दिन पनि जापानी पानासोनिक पुन्टे रेडियो अगाडि राखेर नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवको प्रत्यक्ष प्रसारण सुन्दै समय बिताएँ । गर्नैपर्ने खासखास अफिसियल कामबाहेक अरूमा त्यति ध्यान गएन । आफू पनि काठमाडौँमा भए मज्जाले कविता पाठ गरिने थियो भन्ने असम्भाव्य क्षणको आकलनमा अलिनो मन लिएर दिन बित्यो । 

वर्ष दिनअघि मात्र दैलेख जिल्लाको भूमिसुधार कार्यालयको प्रमुख अधिकृतमा नियुक्ति पाएर काम गर्दै थिएँ । त्यसै दिन साँझपख रेडियो नेपालले नै प्रतियोगितामा दैलेखका नरेन्द्रराज पौडेलको कविता प्रथम भएको खबर सुनायो । समाचार सुनी नसक्दै दिमाग खुसीले तिलमिलायो । २०३१ सालको सोही प्रतियोगितामा तृतीय भइसकेकाले पनि यो पुरस्कार फेरि हात लाग्ने आशा थिएन । कल्पनै नगरेको कुरा अप्रत्यासित रूपमा हातलागी हुँदा के गरौँ, कसो गरौँझैँ भयो । हर्षातिरेकमा खबर सुनाउन सीडीयो टेकनाथ भट्टराईको निवासमा पुगेँ । बधाई दिएर खुसी प्रकट गरे बड्ढाले । अरू घनिष्ठ अफिसर मित्रको ढोका चहार्न पुगेँ । त्यताबाट पनि बधाईका पर्रा छुटे ! 

बेलुकी सदाझैँ खानपान सकेर ओछ्यानमा पल्टिएँ । रेडियो नेपालले असार १२ गते नै राजाबाट पुरस्कार वितरण हुने सूचना सुनायो । दैलेखको बसाइ, पुरस्कार थाप्न भने लगत्तै दुई दिनपछि काठमाडौँ पुग्नुपर्ने । झन् सारो छड्कियो दिमाग त ! साथमा अबोध दुई काखे शिशु पुरुषोत्तम र प्रमोद अनि सावित्री नाउँकी विशुद्ध गृहिणी मात्र थिए, तिनीहरूले के सल्लाह दिऊन् विचरा ? के गरौँ कसो गरौँको दोधारमा दिमाग रन्थनिँदै गर्दा भुसुक्क निदाएछु । भोलिपल्ट बिहानै अपरेटरले आवा अफिस बोलाउन पठाए । जाँदा थाहा भयो सुर्खेतका भूमिसुधार अधिकारी केशवराज राजभण्डारी लाइनमा रहेछन् । उनले प्रफुल्ल भएर बधाई दिँदै मलाई पुरस्कार लिन काठमाडौँ गइहाल्नुपर्छ भने । 

“प्लेन मिलोस् नमिलोस् राजाको हातबाट लिने पुरस्कार थाप्न जसरी पनि तपाईं काठमाडौँ पुग्नैपर्छ, यो चानचुने अवसर होइन । जहाजको नियमित उडान त छैन जस्तो लाग्छ तर खाद्यान्न ओसार्ने चार्टर आयो भने उडाउने प्रयास गरौँला । जहाज नमिले घोडा चडेर नेपालगञ्जसम्म जाने अनि त्यहाँबाट प्लेन समात्ने ।” उनले आडभरोसको बोलीले हौस्याउँदै लामै प्रसङ्ग निकाले । सयस गगनबहादुर भण्डारीलाई हत्तपत्त घोडालाई दानापानी दिएर काठी कस्न लगाएँ । अनि एक कप चिया सुक्र्याउनासाथ घोडा चढेर बाटा लागेँ । 

भगवती टोल नाघेर बिदाइ चौतारो नपुग्दै आवा अफिसको पालेभाइ हस्याङफस्याङ गर्दै पछिपछि आएर आवाको चिर्कटो थमाए । हेरेँ, भर्खर आइपुगेको भूमिसुधार मन्त्रालयको आदेश रहेछ । “राष्ट्रिय पोसाकमा असार १२ गते ५ बजे नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा पुरस्कार लिनका लागि उपस्थित हुन जानू” भन्ने बेहोरा उल्लेख रहेछ । अब राष्ट्रिय पोसाक पो छोडेर आइयो, अब कता खोज्नु ? आवाको चिर्कटोले फेरि एक पटक दिमाग तरङ्गित बनायो । 

“जसो त पर्ला काठमाडौँ पुगेपछि, कुनै साथीलाई गुहार लगाउँला, नभए तयारै किनौँला ! पाउनु नपाउनु अर्कै कुरा हो !” सोचाइ कतकतातिर दौडिँदै गयो । म चाहिँ घोडा दौडाउँदै बाढी भलले खोलेर डण्डुर परेको साँडुको ओरालो झरेँ । अलि तल नपुग्दै नुनचामल, तेल–मट्टितेलका भारी बोकेका जुम्ली बादेखसीको जमातसँग जम्काभेट भई त गयो ! खसीको बगालभित्र छिरेर पार लाग्न असम्भवप्रायः देखियो । हाम्रो मार्ग प्रसस्त गर्न गोठालाले खसी पाखा लगाउने प्रयास पनि गरेकै हुन् तर गह्रौँ भारी बोकेका खसीहरू बाटो छोडेर पाखा भित्तातिर टसमस भएनन् । आआफैँ भीडभाड गर्दै साँघुरो बाटो ढाकेर उँभो आएको खसीको बथानलाई नाघेर उँधो ओर्लनै हम्मेहम्मे प-यो ।

सदासर्वदा बाइपङ्खे तालमा फटाफट लस्किने रामुले (हाथी मेरे साथी भन्ने हिन्दी फिल्मको पात्र सम्झिएर मैले आफ्नो घोडाको नाम पनि रामु राखेको थिएँ !) कुनै बेला पनि पैदलयात्रामा अल्छी गरेको देखेको थिइनँ तर यतिबेर बाटो नपाएर अलमलिनु पर्दा कहाँ जाउँ, कसो गरौँ गर्दै आङ फरफराएर तनावमा सगबगाउन थाल्यो । बल्लतल्ल एक हुल खसीको बथान पार गरेर अलि लामा फड्का मार्न खोज्दै थियो रामुले तर उतिबेरै उस्तैखाले ससाना बोरा र टिनको भारी बोकेका हजारौँ सङ्ख्याको भेडाको बथान मूलबाटो ढाकेर उँभोतिरै सुस्तसुस्त आइरहेको भेटियो । 

रामु उसै दिक्क भएझैँ त्यो हुलअगाडि एक छिन उभियो । अनि मूलबाटो छोडेर पाखाभित्ता हुँदी कान्ला फट्कँदै दगुर्ने सुर गर्दै थियो । खसीभन्दा पनि ढिलो गरी हिँड्ने कुस्त भारी बोकेका भेडाको हुल नाघेर अगाडि बढ्न झनै गाह्रो प¥यो । बल्लतल्ल भेडाको एउटा हुल त पार गरियो तर डिलमा निस्किएर तल्लो साँडुतिर हेर्दा उँभो आउँदै गरेको खच्चडको अर्को लामो लर्को देख्ता आफ्नै दिमाग पनि तिलमिलायो तैपनि अल्छी नमानी फूर्तिसाथ झोजझमेला झेल्दै गयो रामु । 

चुप्रापुल तरेर पारिपट्टि टारबारीको डिलैडिल तेर्सो बाटोमा पैयाँ ठोकेर रिसल्ला वेगले दौडिँदै थियो रामु तर के बित्यास परेर हो, खुट्टो खुस्किएर कान्लामुनि डङ्ग्रङ्गै पछारियो ! मलाई उफारेर झन् तल्लो कान्लामुनि पु¥यायो । एक पटक त केके न भएझैँ सातै गयो मेरो । हत्तपत्त सम्हालिँदै जुरुक्क उठेँ, तै रकाबमा कसो गोडा फसेनछ ! सन्त्रासको छायाले छोपेर आफैँ तरङ्गित भएँ । कुम, पाखुरा जमिनमा बजारिएर दख्खल परे पनि शरीरको अरू संवेदनशील भागमा भने खासै चोटपटक लागेनछ ।

मैले यसो मुन्टो उठाउँदैमा माथिल्लो पाटामा पछारिएको रामुतिर आँखा परे । ऊ पनि ज¥याकजुरुक उठेर मतिर खातिरदारीका आँखा लगाउँदै रहेछ । उसको अनुहारमा केके न विराम गरेझैँ अपराधबोध झल्किएको थियो तर मैले नै ‘रामु ठीक छौ’ भनेर नरम बोलीले मुसारेपछि उसको अनुहारमा पनि प्रदीप्त आभा देखियो ! साथै उसको गतिमा ताजापन र पूmर्ति देखेपछि ममा पनि हौसला भरियो । पछि परेका सयस गगन बहादुरले दौडिँदै आएर लत्रिएको काठी कसकास पारे । भर्खरै गोडमेल गरेर सप्रिएको घैयाबालीमाथि पछारिँदा हामी दुवैलाई खासै आघात परेनछ भन्ने अड्कल गरेँ मैले । घोडाको आङबाट काठी मात्र अलि पछाडि सरेछ । दाहिने कुम र जिउ दुखे पनि बेवास्ता गर्दै सरक्क चडेँ घोडामा । यात्रा यथावत् चालू रह्यो । 

मटेला गाउँमुनिको औडेखौडे बाटो आफ्नै रफ्तारमा लम्किँदै गयो रामु । माथ्लो डुङ्गेश्वर पुगेर पेटपूजा गर्न खोज्दा कतै तयार खाना भेटिएन । पराजुलखोला तरेर लाग्यौँ चारकोसे सातसल्लीको ठाडो उकालो । बच्चाबच्ची बोकेका महिला र ढाकर बोकेका भरिया पनि दोहोेरीलत्तो आवतजावत गर्दै थिए । रामु कसैलाई पनि नछोई सरक्क वरपर लागेर सरासर उकालो चढ्दै गयो । जति उकालो गयो त्यति नै स्वाइँ स्वाइँ लामो सास तान्दै लस्किने रामुको जाँगरी स्वभाव र वर्कत दुवै देखेर अचम्म लाग्छ मलाई! 

नागबेली परेको सातसल्लीको लम्बेतान ढुङ्ग्यान उकालो घण्टाभरमै पार भएर तालपोखरी उत्रिएपछि एक मिनेट सल्लेरीको शीतल हावामा रोकियौँ । अनि अर्को घण्टा नबित्दै रातानाङ्ला नाघेर गाइवान्नाको बाजेको होटल निस्कियौँ । घण्टाभरमै फलमासु भुटभाट पारेर एकराते दही र गुणेको फरफराउँदो वासनादार भुजा सिमीको दाल र कागतीको पुरानो अचारसहितको भान्सा तयार गरिन् साहुनीले ! भोकले खहरिएको अाँत छ्यासमिसे स्वादका व्यञ्जनले अटेसमटेस हुने गरी सन्तुष्ट बन्यो । मज्जैले चना चपायो रामुले पनि ।

चिसा हात नओभाउँदै बेञ्चमाथि यसो आराम गर्न लाग्दा तात्तातो खान्कीले झपक्क आँखा लाग्दै थिए । होटलवाला साहुभाइले पनि “कति धामा गर्नुहुन्छ सर, माथि कोठामा एकछिन आराम गरेर जानुस्” भनेका थिए तर आपूmलाई भोलिपल्टै जसरी पनि काठमाडौँ पुग्नुपर्ने बाध्यताको आकलनले आङ जिरिङ्ग बनायो । जुरुक्क उठेर बुरुक्क घोडामाथि चढेँ र कसेँ टाप । तेर्पेतेर्पे बाटो अलि माथि रानीमत्ता लेकमा पुग्दा स्याउका गुदुमुने बिरुवा भर्खरै किसोरकालतिर उक्लँदै गरेका देखिए । बाटो किनारको सम्म थली गुल्जार भएछ । यताउति दृष्टि दगुराउँदै गुराँसेको जङ्गलको बाटो छारतोस कसेँ । सरुवा भएर अघिल्लो साल त्यो बाटो आउँदा विभिन्न रङरोगनका गुराँस 

फुलेर पाखै ढकमक्क देखेको थिएँ । यतिबेर भने फुल्ने ऋतु नआइपुगेर होला ! लटरम्म कोपिला लाग्दै रहेछन् । 

वरिपरि तलमाथि बाँझ, गुराँस र ताप्रेको झाडीभित्र लुकेको गुराँसेको तेर्सो बाटो रिसल्ला वेगले दौडिँदै थुम्काको चौतारीमा पुगेपछि झसक्क झस्किएर टक्क अडियो रामु । “फेरि के भयो 

रामुलाई ? विचरा आफ्नो व्यथा भन्न सक्तैन !” विस्मयमा मन धर्मरायो । लाग्यौँ बाटा एकैछिनमा त्यहाँबाट पनि । रानीमत्ता डाँडाको थुम्काबाट तलको सुर्खेत उपत्यका मज्जैले दृष्टिगोचर भयो । कतै हिउँदे धान लहलहाएको, कतै रोपाइँ हुँदै गरेको फाँट र भर्खरै विकस्वर हुँदै गरेको सुर्खेत बजार निकै रमाइलो देखियो । भुर्र उडेर सुइँयँ तल झरौँझरौँ लाग्ने !  रानीमत्ता नाघेर ओरालो लाग्दा पाइलैपिच्छे दम्को लागेर रामु धर्मरायो । अनि तीखा ढुङ्गा बग्रेल्ती छरिएको ओरालो बाटो कष्टसाथ हिँड्न थाल्यो । बिहान चुप्रानेर लडेर तोड परेको खुट्टो कडा चट्टानी ढुङ्गामाथि दम्को परेर खोच्याउन थाल्यो भन्ने विश्वास भयो । यस्तै आकलन गरेर मैले तत्काल रोकेँ उसलाई । अनि बुर्लुक्क हाम फालेर गगनलाई लगाम थमाएँ । राम्ररी फिर्ता जानु भनेर बिदा गरेँ । मलाई बीच बाटोमा छोडेर फर्किन मानिरहेको थिएन रामु । सयस गगन बल गरेर फकाउँदै थिए । आपूmले भने गगनसँगको झोला लिएर मारेँ बुर्कुसी सुर्खेत बजार ताकेर । तल पुग्दासम्म रामु मलाई हेरेर पछि लाग्न बल गर्दै थियो । सरासर लम्किएर डेढ घण्टाजतिमै ओरालो छिचोलेपछि टक्रक्क भूमिसुधार अफिस पुग्दा राहतको लामो सास फेरेको थिएँ । दिनको २ बजेछ !

केशवराज राजभण्डारी सरसँग बधाईको हात मिलाउँदै छोटो भलाकुसारी भयो । सुर्खेतबाट काठमाडौँ चल्ने हवाई उडान त्यस दिन नभएकाले जसरी पनि नेपालगञ्ज गइहाल्नुपर्छ भन्ने उनको आसय रह्यो । बेलुकीसम्म कुनै चार्टर प्लेन आयो भने त्यसैमा जाने नत्र उनैको घोडा लिएर रातभर बड्काउँदै बिहानसम्म नेपालगञ्ज उत्रिने अनि त्यहाँबाट जहाजमा काठमाडौँ उड्ने कुरा बताउँदै गर्दा उनको अठोट र सुझावले निकै हौसिँदै थिएँ म । अनि केशव सरले उतिबेरै चर्नका लागि बाँझो खेततिर गएको आफ्नै घोडा छाँदेर ल्याउन सयस पठाए । 

निकै बेर पर्खंदा पनि सयसले घोडा छाँदेर ल्याएनन् । उल्टै घोडा त बगालिएका घोडीको बथानसँग पछि लागेर सुर्खेतका चउर, फाँट बगर जताततै छाडा भएर दौडिँदै गरेको खबर आयो । केशव सरले अरू दुई÷तीन जना पियन पालेहरू थप मद्दतका लागि पठाए । घोडा छाँदेर, बाँधेर जेजसरी पनि तत्काल ल्याउनु भन्ने कडै आदेश थियो । आदेश शिरोपर गरेर काँडावाल लगाम, कोर्रा, लौरा बोकेका थप दुई जना पाले परिचर दौडिहाले । अब त पक्कै घोडा ल्याउलान् भन्ने विश्वासमा हामी प्रतीक्षारत थियौँ तैपनि निकै बेरसम्म घोडा आइपुगेन । खोज्न गएका सयस पाले सब बेपत्ता !

 केशव सरले झोक्ँिकदै आफ्नै भान्छे केटालाई चेक गर्न पठाउँदा त अलिबेरपछि ऊ पनि रित्तै फर्कियो । उसले ल्याएको खबरअनुसार लाटीकोइलीतिरबाट चर्न आएका घोडीको बथानको पछिपछि दौडिँदै उफ्रिँदै रहेछ घोडा । चारै खुट्टा फालेर मुन्टो बटार्दै दारा खप्टिएर हिलहिलाउँदै उत्पात मच्चाउँदै गरेको घोडाले समाउन गएका सयस पालेको सेखी झार्दै घरि एयरपोर्ट, घरि बुलबुल ताल र घरी निकुञ्जतिर बुर्कुसी मारेर हैरान बनाएछ । हस्याङफस्याङ गर्दै आइपुगेको भान्छे भाइको प्रत्यक्ष वर्णनले हामी दुवै जिल्ल प¥यौँ । दिक्दार बनेर अर्को अफिसतिर घोडा खोज्न जाने कुरा गर्दै थिए केशव सर मलाई चाहिँ आफ्नै घोडा बीचबाटोमा नछोड्नुपर्ने रहेछजस्तो लाग्दै थियो । तीखा ढुङ्गा भएको बाटोमा खुट्टो खोच्याए पनि मट्याइलो समथर बाटोमा अवश्य पनि दगुथ्र्यो भन्ने चुकचुकी पलायो । गल्ती गरेको पछुतोमा रनभुल्ल परेँ ! 

यत्तिकैमा एकाएक दक्षिणपट्टिको हर्रे डाँडामाथिबाट भुरुरु उड्दै गरेको नीलो प्लेन एयरपोर्टतिर चुच्चो सोझ्याएर तल तल झर्दै गरेको देखियो । त्यसको आवाज सुन्दैमा हाम्रो खुसीको ठेगानै रहेन । मभन्दा पनि बढी हौसिएका केशव सरले हतारहतार स्टेसन म्यानेजरलाई सानो चिट लेखिदिए । तुरुन्तै म पनि त्यो चिट समाउँदै एयरपोर्टतिर लागेँ । प्लेन बस्ता नबस्तै स्टेसन इञ्चार्जले हवाई मैदानतिर लाग्ने इसारा गरे । उत्तिबेरै सामान अनलोड गरेर उडिहाल्न तर्खर देखायो प्लेनले । विश्व खाद्य कार्यक्रमअन्तर्गत खाद्यान्न ढुवानी गर्ने त्यो चार्टर प्लेनमा लाग्दो भाडा तिरेर बिनाटिकट नेपालगञ्जको खजुरा विमानस्थल उत्रिँदा ठ्याक्कै दिनको साढे चार बजेछ । “असारका लामा दिन, हडबडाउनु पर्दैन बबुरा,” आफैँसँग भुतभुताउँदै रैछु म । 

टाँगा समातेर नेपालगञ्ज वायुसेवा निगमको अफिसमा सम्पर्क गर्न पुगेँ । नियमित उडानको जहाज पर्सिपल्ट मात्रै काठमाडौँबाट नेपालगञ्ज आउने थाहा भयो । टिकट पनि मिल्लाजस्तै थियो तर पुरस्कार लिनुपर्ने दिनसम्म पर्खिंदा केहीजानी जहाजले पनि घोडाले जस्तै धोका दियो भने ? मनमा प्रश्नैप्रश्न खेलाउँदै अर्को टाँगा समातेर लागेँ गौरीफन्टा हुँदै रेल्वे स्टेसनतर्पm । 

रेल र बस फेर्दै भोलिपल्ट बेलुकी बल्लतल्ल काठमाडौँ उत्रिएदेखि नै दौरासुरुवालको खोजी पनि हल्का तनावपूर्ण रह्यो । तुरुन्तै साथी केशव गौतम र म नयाँसडक, इन्द्रचोकतिर हान्नियौँ । तयारी अवस्थाका खोजेर नयाँ किन्नेभन्दा कोट पाइए पनि दौरासुरुवाल चाहिँ नपाइने रहेछ । मद्दत माग्न साथीतिर लागियो । आफु बसेकै डेरावाला डोल्पाली साथी लक्ष्मीनारायण न्यौपानेका हर्लङ्गहर्लङ्ग लाइनसक्ना भए । अछामे साथी धनञ्जय तिमिल्सिनाका बल्लतल्ल अलि ठीकजस्ता लागे । तिनै नमिल्दा दौरासुरुवाल कोट लगाएर दिउँसो ४ बजे प्रज्ञा भवन, कमलादी पुगेँ । अपराह्न ६ बजेको समयमा राजाबाट प्रथम पुरस्कार रकमसहितको प्रमाणपत्र प्राप्त गरेँ ।