• १६ भदौ २०८१, आइतबार

नेताहरूले प्रतिबद्धता पूरा गरे देश बन्छ : अध्यक्ष तिमिल्सिना

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस २८ गते । प्रमुख राजनीतिक दलका नेताहरूले आफ्नो प्रतिबद्धताअनुसार काम गरे देश बन्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । सातौँ म्याग्दी महोत्सव–२०७९ को उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “गएको स्थानीय तह निर्वाचन र आम निर्वाचनमा राजनैतिक दलहरूले जारी गरेको प्रतिबद्धता मात्रै पूरा गरेमा मुलुक समृद्ध बन्छ ।” अहिले मुलुक विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै तिमिल्सिनाले दलहरूको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । 

देशमा सुशासन, पारदर्शिता, विधिको शासन र भ्रष्टाचार अन्त्य हुनु पर्ने उहाँको भनाइ छ । संविधानसभाबाट संविधान बनेको र त्यसपछिका विधिहरू अगाडि बढेकाले मुलुकको नेतृत्व गर्नेले कार्यान्वयनमा लानु पर्ने उहाँले बताउनुभयो । 

उद्योग व्यापार र कलाको विकास गरौँ संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौँ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विदेशमा रोजगार गर्नेलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन राजनीतिक दलको प्रतिबद्धता पूरा हुन आवश्यक छ ।’

कालिगण्डकी कोरिडोर देशभरिकै महत्त्वपूर्ण योजना भएकाले सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । मालढुङ्गा बेनी १३ किलोमिटर सडक ९९ करोड बजेटको कार्यक्रम भएको उहाँले चर्चा गर्नुभयो । टेण्डर प्रक्रिया पूरा भएर अगाडि बढेको भए पनि काम चुस्त हुन नसकेको उहाँको गुनासो छ । 

कालिगण्डकी कोरिडोर सडक आयोजनाको कोरला नाकासम्म पनि पुगेको बताउँदै तिमिल्सिनाले कोरला नाका सञ्चालनका लागि पहल गरिनु पर्ने बताउनुभयो । अपर मुस्ताङको नाका खुल्दा अन्तरदेशीय व्यापार हुने बताउँदै नेपाल र चीन मात्रै नभएर नेपाल भारत र चीनको त्रिदेशीय नाकाको रूपमा कोरलाको बिस्तार भइरहेको बताउनुभयो । भन्सारका लागि सरकारले जग्गा पाएकाले अब काम चाँडै हुने विश्वास व्यक्त गर्नुभयो ।  

बेनी–जोमसोम–कोरला कालिगण्डकी सडक आयोजनाको प्रमुखलाई नै सँगै लिएर आफू कोरला नाकासम्म पुगेकाले सडकले तीव्रता पाउने उहाँको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले कोरिडोरको म्याग्दी खण्डमा भौगोलिक कारणले केही समस्या भएको बताउनुभयो ।