• १२ साउन २०८१, शनिबार

बागमतीको सभामुखका लागि तीन जनाकाे उम्मेदवारी

blog

सभामुखका लागि सत्ता गठबन्धनका भुवन पाठक, नेपाल कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सायजुको उम्मेदवारी । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस २८ गते ।
बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धनका भुवन पाठक, नेपाल कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पाठकको प्रस्तावकमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थनमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल हुनुहुन्छ ।

यसैगरी, अधिकारीको प्रस्तावकमा कांग्रेसका सांसद कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार हुनुहुन्छ भने सायजुको प्रस्तावकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं र समर्थकमा गीता काफ्ले हुनुहुन्छ ।

प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । निर्वाचनका लागि आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी ११० प्रदेशसभा सदस्य छन् ।