भक्तपुर, पुस २८ गते । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गर्नुभएको छ ।
नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४÷७५ देखि आव २०७७÷७८ सम्ममा ३३ शीर्षकमा रु. छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७÷७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको छ ।
उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै रु. एक करोड २८ लाख ८९ हजार आठ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
नगरप्रमुख खत्रीले भन्नुभयो, “विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधुरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमानदारीका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।”
त्यस्तै नगरपालिकाले चालु आव २०७९÷८० का लागि पुँजीगततर्फ रु. एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार नौ सय ५७ र चालुतर्फ रु. ७७ करोड १८ लाख ८२ हजार दुई सय ४३ गरी कुल रु. दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार दुई सय बजेट विनियोजन गरेकामा यो छ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कुल रु ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगरप्रमुख खत्रीले बताउनुभयो ।
आन्तरिक राजस्वतर्फ रु २६ करोड २६ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा रु छ करोड ८४ लाख १३ हजार दुई सय ४३ अर्थात् २६ दशमलव चार प्रतिशत मात्रै सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।