• १० मंसिर २०८१, सोमबार

शीतलहर मा जीवन रक्षा

blog

हिउँदमा जाडो बढेसँगै मुलुकका तराई मधेश क्षेत्रमा जनजीवन निकै कष्टकर हुने गरेको छ। चिसो बढेसँगै शीतलहरको प्रभाव तराईमधेशमा तीव्र बढ्ने गर्छ। शीतलहरका कारण आमजनताले निकै सास्ती भोग्नु परेका खबर आउन थालेका छन्। विपन्नको गाँस, बास र कपासको राम्रो व्यवस्था नहुँदा कतिपयले ज्यानै गुमाउनुपर्ने दुर्भाग्यपूर्ण स्थिति पनि आइपर्छ। विपन्न नागरिकसँगै बालबालिका, रोगी तथा वृद्धवृद्धा यो समयमा निकै प्रभावित हुने गरेका छन्। विगत वर्षमा शीतलहरको प्रभाव बढी नै देखिएको हो। यो वर्ष पनि शीतलहरको प्रभाव केही दिनअघिदेखि नै देखिन थालेको छ। विशेषगरी जाडोयाममा तराईमा शीतलहरको प्रभाव वृद्धि हुन्छ। बिहान तथा साँझ बहने चिसो हावा त हिउँद यामभर नै रहन्छ तर शीतलहरले भने दिनरात नै जनजीवनमा व्यापक प्रभाव पार्ने गरेको छ। हावा, बाक्लो हुस्सु तथा कठ्याङ्ग्रिँदो जाडोले आममानिसको दैनिक क्रियाकलाप नै नराम्ररी प्रभावित भइरहेको पाइन्छ। 

शीतलहरलगायत चिसोका कारण स्वास्थ्यमा ठूलै समस्या आउन सक्छ। रुघाखोकी, ज्वरो आउनेजस्ता मौसमी रोगसमेत हिउँद याममा बढी देखिने गर्छ। तराईमा हिउँदका केही महिना मात्र चिसो हुने हुँदा धेरै मानिसका न्याना लुगा कपडासमेत प्रशस्त हुँदैनन्। पहाडी भेगमा वर्षका छ सात महिना जाडो हुने हुँदा मानिस सोहीअनुसारकै तयारी गर्ने गर्छन् तर तराईमधेशमा त्यस्तो अवस्था नहुँदा चिसोको प्रभाव अझ जटिल हुने गर्छ। चिसोकै कारण मौसमी रोगसमेत लाग्ने गर्छ। शीतलहरबाट जोगाउँदै मौसमी रोगव्याधिबाट समेत तराई मधेशबासीलाई सुरक्षित राख्नु सरकारको प्रमुख कर्तव्य हो। सबै नागरिकको सुरक्षाका निम्ति तीन तहकै सरकार संवेदनशील हुनुपर्छ। सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी समन्वय र सहकार्यले शीतलहरबाट जीवन जोगाउन सकिन्छ। यो तीनै तहको सरकारको मुख्य जिम्मेवारी र प्राथमिकता हो। 

विशेषगरी आर्थिक तथा सामाजिक रूपमा सीमान्तकृत वर्ग चिसोबाट बढी प्रभावित हुने कुरालाई सम्बद्ध निकाय सबैले राम्ररी मनन गर्नुपर्ने हुन्छ। उनीहरूको जीवन रक्षाका निम्ति सरकारले सिरक डसना तथा कम्बलको प्रबन्ध, वितरणलगायत ताता लत्ताकपडा, आगो ताप्नेजस्ता न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राख्नु अति जरुरी छ। शीतलहरकै कारण तराईका कतिपय विद्यालयमा पठनपाठन रोकिएका छन्। विद्यार्थीहरू विद्यालय आउन सकेका छैनन्। बर्खे बिदाबाट कटौती गर्ने गरी विद्यालय बन्द गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ। चिसोका कारण तराईको जनजीवन लगभग एक किसिमले ठप्प रहेको छ। शीतलहर एक वर्षको मात्र समस्या होइन। बर्सेनि तराई क्षेत्रमा देखिने शीतलहरलगायत जाडोको समस्याबाट आमनागरिकलाई जोगाउन दीर्घकालीन योजनासमेत आवश्यक छ। आगो लागेपछि इनार खन्नुभन्दा पहिल्यै इनारको व्यवस्थापन गर्नु राम्रो हुन्छ भनेझैँ आर्थिक तथा सामाजिक रूपमा तराईमधेशका बासिन्दालाई सशक्त बनाउने नीति र योजनासमेत आवश्यक भएको छ।

हिउँदमा शीतलहर आउँछ भन्ने थाहा छ। यस्तो बेला चिसोबाट जोगिन सकिने गरी हिउँद आगमनअघि नै सिरक, कम्बल, दाउरा तथा पोषिला खाद्यान्नको जोहो गर्नेतर्फ तयारी आवश्यक हुन्छ। यसका निम्ति सेना, प्रहरी तथा सशस्त्र प्रहरीजस्ता सङ्गठित संस्थाको संलग्नता निकै अर्थपूर्ण हुनेछ। केही दिनअघि मात्र सरकारले तराईका शीतलहरबाट प्रभावितका समस्या सम्बोधन गर्ने गरी सार्वजनिक गरेका विषय तत्कालै कार्यान्वयन गर्ने दिशामा ध्यान दिनु आवश्यक छ। तराईमा शीतलहरको समस्याजस्तै पहाडी तथा हिमाली भेकमा पनि हिउँद याममा जाडोको समस्या निकै गम्भीर रूपमा देखापर्ने गरेको छ। 

कतिपय हिमाली तथा पहाडी भेकका बासिन्दा अति जाडोका कारण केही महिनाका निम्ति बस्तुभाउसहित बस्ती नै सर्नुपर्ने बाध्यमा समेत हुन्छन्। यसरी भन्नुपर्दा जाडोले तराई, पहाड तथा हिमाली क्षेत्रको सामूहिक समस्याका रूपमा देखिन्छ र यी तीनै क्षेत्रका सीमान्तकृत बासिन्दा यसबाट नराम्ररी प्रभावित हुने गरेको पाइन्छ। 

मुलुकमा जाडोका कारण तराई, पहाड तथा हिमाली क्षेत्रका आमजनताको जनजीवन प्रभावित भइरहेका सन्दर्भमा सरकारले यस सम्बन्धमा विशेष कार्यक्रम वा प्रबन्ध गर्न नीतिगत योजना नै अगाडि सार्नुपर्छ। यसका निम्ति स्थानीय जनता, निजी क्षेत्रसँगको सहकार्यले समेत जीवन्त भूमिका खेल्न सक्ने अपेक्षा गर्न सकिन्छ। 

लोक कल्याणकारी राज्यको अवधारणालाई वास्तविकतामा परिणत गर्न पनि राज्यले जनताका दैनिकीसँग जोडिएका यस्ता संवेनदनशील विषयलाई विशेष तथा महत्व दिनुको विकल्प देखिँदैन।