• ७ वैशाख २०८१, शुक्रबार

केरुङ–काठमाडौँ रेल मार्गको विस्तृत अध्ययन सुरु

blog

काठमाडौँ, पुस २८ गते। नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) सुरु भएको छ । विस्तृत अध्ययन गर्न नेपाल आएका चीनको रेलवे विज्ञ टोलीले नुवाकोट र रसुवा पुगेर अध्ययन सुरु गरेको रेल विभागले जनाएको छ । 

सो अध्ययन गर्न चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू पुस १२ गते नेपाल आएका हुन् ।

रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले चिनियाँ प्राविधिक टोलीले रसुवा र नुवाकोटको विभिन्न स्थानमा पुगेर विस्तृत अध्ययन सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ टोलीले अबको तीन वर्षमा अध्ययन गरेर सोको प्रतिवेदन नेपाललाई बुझाउनेछ । 

कठिन भौगोलिक बनोटका कारण प्रस्तावित सो रेल मार्ग निर्माण चुनौतीपूर्ण रहेको बताउँदै उहाँले विस्तृत अध्ययनले त्यस्ता चुनौती र कठिनाइबारे प्रस्ट हुने र कुनै समस्या नआउने गरी अध्ययन हुने जानकारी दिनुभयो । टोलीले भूबनोट, टनेलिङ तथा भूकम्पीय जोखिमलगायतका विषयमा अध्ययन गर्ने उहाँको भनाइ छ । 

अध्ययनको पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल 

पङ्क्ति योजना (रेलवे अलाइनमेन्ट) तथा लागत अनुमानसम्बन्धी अध्ययन गरिनेछ । प्राविधिक रूपले यो आयोजना कठिन र चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

दुई मुलुकबीच भएको समझादारीअनुसार चीनले आफ्नो आर्थिक र प्राविधिक लगानीमा विस्तृत सम्भाव्यता अध्ययन गर्ने छ । यो रेल मार्गको ‘डीपीआर’ तयार गर्न करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेल मार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने हुन्छ ।’’ सम्भाव्यता अध्ययन प्रतिवेदनले सो रेलवे परियोजनाको कुल लागत, निर्माणको ‘मोडेल’लगायतका विषयबारे टुङ्गो लाग्नेछ ।