• ११ मंसिर २०८१, मङ्गलबार

३०१औँ पृथ्वी जयन्ती

शर्मालीगढी पुनः निर्माण गर्न चार करोडको डीपिआर तयार

blog

बैतडीको शिवनाथ गाउँपालिका–२, मा रहेको शर्माली गढी किल्ला । तस्बिर: गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, पुस २७ गते । ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभरी भव्यताका साथ मनाइदैछ । दिवस मनाउने कामसँगै  बैतडीको शिवनाथ गाउँपालिकाले पृथ्वीनारायण शाहका पालाका निर्माण भएको शर्मालीगढी किल्ला पुनः निर्माण गर्न चार करोड रुपियाँको डीपिआर तयार गरेको छ ।

पृथ्वीनारायण शाहको योगदानको स्मण गर्दै बैतडीको शिवनाथ गाउँपालिका–२, मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला पुनः निर्माण गर्न गाउँपालिकाले डीपिआर तयार गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

डीपिआरमा  किल्लाको संरक्षण, पदमार्ग, कोतखाना निर्माण र किल्ला वरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्न डीपिआर तयार भएको उहाँले बताउनुभयो । किल्लाको मौलिकता जेजस्तो हो त्यही स्वरूपमा पुनः निर्माण गर्न करिब चार करोड रुपियाँको लागतमा डीपिआर तयार भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,“ नेपाल एकीकरण र अङ्ग्रेजसँगको लडाइँका बेला स्थापना भएको किल्ला पुनः निर्माण हुन्छ । यसका लागि चार करोड रुपियाँको डीपिआर तयार गरेर पुरातत्त्व विभागलाई एक महिनाभित्रै बुझाउने तयारी गरिरहेका छौँ । ” 

नेपाल एकीकरण मार्ग अन्तरगत नेपाली सेनाले बैतडीको शर्मालीगढी किल्लासम्म २६३ मिटर लामो पदमार्ग निर्माण गरेर गत वर्षनै गाउँपालिकालाई हस्तान्तरण गरिसकेको बैतडीस्थित नेपाली सेनाको हनुमान ध्वज गुल्मका गुल्पपति सेनानी प्रह्लाद थापाले     बताउनुभयो । उहाँले सेनाको अगुवाइ केही दिन अघि किल्ला सरसफाइ गरेको बताउनुभयो । 

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महत्त्वका हिसाबले बैतडीको शर्मालीगढी किल्ला महत्त्वपूर्ण किल्ला हो । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएको थियो ।  

नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न शर्मालीगढी किल्ला निर्माण भएको थियो । किल्लाको संरक्षण हुन नसक्दा त्यहाँ रहेका महत्त्वपूर्ण ढाल–तरबार र पुराना तोप हराएका छन् । 

शर्मालीगढीमा रहेको किल्लाभित्रको हतियार राख्ने ठाउँ जीर्ण बनेर भत्केपछि किल्लाका ढुङ्गा छरपस्ट अवस्थामा छन् ।  किल्ला संरक्षण गर्न नेपाली सेनाको अगुवाइमा किल्लासम्म पुग्ने २६३ मिटर बाटो बनाइएको  शिवनाथ गाउँपालिका अध्यक्ष साउदले  बताउनुभयो । 

समुद्री सतहबाट १४७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेलधुरा स्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ । 

चारैतिर रानी सल्लाको घना जङ्गलले घेरिएको शर्मालीगढी किल्लामा पर्ने जङ्गल क्षेत्र अहिले अमरगढी सामुदायिक वन नामकरण गरिएको छ । ४९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो र धनी सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ । 

शर्मालीगढी किल्ला हेर्न बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको ३४ किलोमिटर सडक यातायात पार गरेपछि शिवनाथा गाउँपालिकाको केन्द्र सुल्ले खान पुगिन्छ । शिवनाथको सुल्ल खानबाट ११ किलोमिटर ग्रामीण सडक ओर्लेपछि शर्मालीगढी पुगिन्छ । कच्ची सडकबाट १० मिनेट उकालो चढेर शर्मालीगढी किल्ला अवलोकन गर्न सकिन्छ ।