• १६ चैत २०८०, शुक्रबार

नेपाल टी–२० क्रिकेट : विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश

blog

काठमाडौंविरुद्ध रन लिँदै विराटनगरका खेलाडी । तस्बिर : क्यान

काठमाडौं पुस २५ गते । काठमाडौं नाइट्समाथि सानदार जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको इलिमिनेटर खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले हरायो । 

जितका लागि विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनमा समेटिएको थियो । विराटनगरका लागि अविनाश बोहोराले १६ रन बनाउनुभयो ।

कप्तान ज्ञानेन्द्र मल्लले १५, ओपनर लोकेश बमले १३ र कमल ऐरीले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न विराटनगरका सूर्य तामाङले चार विकेट लिनुभयो । शाहब आलम र कोओन जोसेफले दुई दुई तथा हुसेन टलटले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ रन बनाउनुभयो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । विवेक यादवले ४६, हुसेन तलतले ३८ र राज नाननले १३ रन बनाउनुभयो ।

बलिङमा काठमाडौंका अनिल खरेल र कमल सिंह ऐरीले दुई दुई तथा अविनाश बोहोरा र गौतम केसीले एक एक विकेट झार्नुभयो । जितसँगै विराटनगरले फाइनलमा स्थान बनाउन जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित काठमाडौं लिगबाट बाहिरिएको छ ।  लुम्बिनी अल स्टार यसअघि नै फाइनलमा पुगिसकेको छ । 

लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।