• ११ मंसिर २०८१, मङ्गलबार

लोप हुँदै सिलङ्गो

blog

बैतडी समाचारदाता 

बैतडी, पुस २५ गते । 

सिलङ्गो फूले जस्तै फुल्नू 

दूबो जस्तै फैलिनू,  

हिमालमा हिउँ छन्जेलसम्म जिउनू

मान्यजनले आशीर्वाद दिने बेलामा सुदूरपश्चिममा यस्तै भन्ने प्रचलन छ। यद्यपि सिलङ्गो वनस्पति लोप हुने अवस्थामा पुगेको छ। गाउँघरका बाटाघाटामा बनाइएका सिलङ्गोका चौतारी कच्ची सडक निर्माण क्रममा भत्काइने र वनमा समेत संरक्षण हुन नसक्दा सिलङ्गो वनस्पति सङ्कट अवस्थामा पुगेको छ। 

भनिन्छ, सिलङ्गो नेपालमा मात्रै पाइने अति लोपोन्मुख वनस्पति हो। बाह्रै महिना हरियो रहेर छाया र सुवास दिने सिलङ्गो सुदूरपश्चिमतिर लोप हुने अवस्थामा छ। यो बिरुवा काट्नु हुँदैन भन्ने धार्मिक मान्यता छ। चैतदेखि जेठसम्म फुल्ने सिलङ्गोको मन्त्रमुग्ध पार्ने वासना कोसौँ टाढासम्म पगेर मान्छेलाई सुवास फैल्याउँछ। दशकअघि बैतडीका अधिकांश ठाउँमा पाइने सिलङ्गो पछिल्लो समय जलवायु परिवर्तन र जथाभाबी सडक निर्माण गर्दा सङ्कटमा परेको छ। 

नेपाल सरकारले संरक्षित वन घोषणा गरेको दशरथचन्द नगरपालिका–९, को ग्वाल्लेक वन र सिगास गाउँपालिकाको सिगास संरक्षित वनमा सिलङ्गो पाइन्छ। तर, पछिल्लो समय स्थानीय तहको सरकारले संरक्षित वनमा डोजरले सडक खन्दा सिलङ्गो सङ्कटमा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो। उहाँले पर्यावरणीय अध्ययनबिना सडक खन्दा वन विनाश बढेको बताउनुभयो। वन कार्यालयले स्थानीय सरकारलाई वन विनाश हुने गरी सडक निर्माण नगर्न पत्राचार गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो। 

सिलङ्गो धर्तीबाटै लोप हुन लागेको अति 

सङ्कटापन्न प्रजातिमध्येमा परेको छ। सिलङ्गो लोप हुँदै जान थालेपछि बैतडीको पाटन नगरपालिका–१०, धुराका नारयणदत्त भट्टले बासुलिङको गौरा मनाउने ठाउँ खलो (मैदान)मा सिलङ्गो रोपेको जानकारी दिनुभयो। सिलङ्गो धार्मिक बिरुवा भएकाले यसको बोट रोप्ने व्यक्तिले मोक्ष प्राप्त गर्ने र सन्ततिलाई सुख हुने विश्वास गरिन्छ। 

नेपाल सरकारले सिलङ्गोलाई सङ्कटापन्न वनस्पति घोषणा गरेका कारण यो बिरुवा पाइने ग्वाल्लेक वन र सिगास वनलाई संरक्षित वन घोषणा गरेको सिगास सबडिभिजन वन कार्यालय बैतडीका वन अधिकृत हेम सहनीले बताउनुभयो। सिगास संरक्षित वनमा सिलङ्गोलगायत लौटसल्लासहित ४२ भन्दा बढी जडीबुटी रहेको बताइन्छ। 

बैतडीको ग्वाल्लेक र सिगास वनलाई संरक्षित वन घोषणा गरे पनि विकासका नाममा डोजर चलाएर सडक खन्ने योजनाले लौटसल्ला र सिलङ्गो सङ्कटमा पर्ने भएको छ। संरक्षित वनमा स्थानीय सरकारले डोजर लगाएर सडक खन्ने योजनाको स्थानीयवासीले विरोध गरेका छन्। मेलौली नगरपालिकाले ग्वाल्लेक संरक्षित वन र सिगास गाउँपालिकाले सिगास संरक्षित वनमा डोजर लगाएर सडक खन्ने योजना बनाएको भन्दै स्थानीयवासीले विरोध गरेका छन्।  

खानेपानीको काम मुहानदेखि जैविक विविधतामा असर गर्ने भएकाले सिगास संरक्षित वनमा सडक खन्न नदिने कर्णधार सामुदायिक वनका सचिव लोकेन्द्रसिंह धामीले बताउनुभयो। मेलौली नगरपालिकाले संरक्षित वन क्षेत्रबाट सडक खन्न डोजर ल्याएपछि स्थानीयले जिल्ला वन कार्यालयमा उजुरी दिएका थिए। 

केही दिन रोकिएको सडक निर्माणको काम पुनः पर्यावरणीय अध्ययन गरेर डीपीआर बनेको र सुदूरपश्चिम प्रदेश सरकारको वन मन्त्रालयले सडक खन्ने स्वीकृति दिएको भन्दै मेलौली नगरपालिकाले दुई वर्षअघि सडक खनिसकेको छ। ग्वाल्लेक र सिगास संरक्षित वन क्षेत्रमा सिलङ्गो, लौटसल्ला, सतुवा, पाँचऔँले जडीबुटीलगायत चितुवा, कालोभालु, रातो फ्याउरो, घोरल, झारललगायतका जनावरको बासस्थान मानिन्छ। समद्री सतहबाट २५ सय मिटर उचाइमा रहको पवित्र ग्वाल्लेक वन र समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहको सिगास धुरामा सिलङ्गो, प्राकृतिक लौटसल्ला र हिमालयन सेतो चन्दनसहित बहुमूल्य जडीबुटी रहेको तथ्य सार्वजनिक गर्दै जिल्ला वन कार्यालय बैतडीले यी दुवै वनलाई संरक्षित वन घोषणा गर्न परिषद् गठन गरेर कार्ययोजनासमेत अघि बढाएको छ।