• १३ साउन २०८१, आइतबार

विराटनगर र जनकपुरबाट श्रम स्वीकृति सुरु

blog

काठमाडौँ, पुस २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ । 

यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरेको हो । 

यस्तै सुर्खेत र धनगढीका श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन्छ । श्रम, रोजगार तथा  सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले आइतबारदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृत दिन थालिएको जानकारी दिनुभयो । योसँगै सातवटै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको उहाँले बताउनुभयो । 

सचिव अर्यालले श्रम स्वीकृति लिनका लागि भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यामा ध्यानमा राखेर अनलाइनमार्फत सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको बताउनुभयो । 

पुनः श्रम स्वीकृतिदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति पनि पूर्णरूपमा अनलाइनबाट मात्र प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि कोही पनि कार्यालयमा गएर लाइन लाग्नु पर्दैन । यसअघि प्रदेशबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए ।