• १३ पुस २०८१, शनिबार

किसनपुरको बाढी (कथा)

blog

“लौ न कहाँ जाने होला ? के गर्ने होला ? कोसी नदीको ड्याम फुटिसक्यो ?” गाउँलेहरूले भने । गाउँलेहरू ड्याम फुटेपछि सबै जना आफ्नो महत्वपूर्ण सामान, गरगहना, पैसा लिएर भाग्न थाले । मानिसहरू “छिटो भाग नत्र डुबानमा परिएला ” भनेर कराइरहेका थिए । सबै मानिसको मनमा डर थियो । सबै जना यताउता भागिरहेका थिए ।

किसनपुर गाउँ डुब्न आँटी सकेको थियो । हरियाली रमणीय किसनपुर गाउँ एउटा खोलाको किनारमा परिणत हुँदै थियो । गाउँ पानीले डुबेर जलथल भइसकेको थियो । गाउँमा रहेका घरहरू डुबानमा परिरहेका थिए । गाउँलेहरू रुँदै ‘किन यस्तो ठाउँमा घर बनाएँ होला ? हे दैव यो के गरेको ? मैले जिन्दगीभरि मेहनत गरेर कमाएको पैसाले बनाएको घर आज पानीले बगाएर लग्यो ।’ भनेर सबै जना रुँदै थिए ।

कोही बच्चाहरू ‘बाबाआमा कहाँ हुनुहुन्छ ?’ भनेर खोज्दै थिए । बच्चाहरू ‘भोक लाग्यो आमा, भोक लाग्यो बाबा हाम्रो घर खोइ ?’ भनेर रुँदै बसिराखेका थिए । मानिसहरूसँग न त खाने खाना छ, न त लगाउने लुगा छ, न त बस्ने ठाउँ ? किसनपुर गाउँमा सबैको आँखामा आँसु मात्र थियो । सबै जना कोहीको आमा छैन, कोहीको बाबा छैन, कोहीको दिदी, दाइ छैन भनी रोएर बसेका थिए ।

किसनपुर गाउँमा निरन्तर पानी परिरहेकाले नरकभन्दा कम थिएन । पानी निरन्तर परेको कारणले गर्दा वरिपरिको अन्य गाउँ पनि डुबान परिरहेको थियो । अन्य गाउँका मानिस पनि त्रासमा थिए । उनीहरू कहिले बाढी आउने हो, कहिले लाने हो थाहा छैन भनी डरमा थिए । “हे भगवान !  किसनपुर गाउँको सबै खुसी पानीले बगाएर लग्यो, त्यो गाउँको मानिसलाई कति पीडा भएको होला ?” भनी अर्को गाउँ अर्थात् महेन्द्रनगर गाउँवासीले भने ।

त्यो गाउँमा सीता नाम गरेकी केटी पनि बस्थिन् । उनी एकदमै उदार हृदय भएकी केटी थिइन् । उनी सधैँ समाज सेवामा खटिन्छिन् । सीता टेलिभिजनमा किसनपुर गाउँको खबर हेरिरहेकी थिइन् । यतिकैमा त्यहाँ हरि आयो । हरिले सीतालाई सोध्यो, “सीता तिमी त कति दयालु है, तिमी किन अरूको आमाबाबुलाई आफ्नो जस्तो मान्छौ ।” सीताले भनिन्, “म त्यस्तो दयालु होइन, अरूलाई परेको बेला मद्दत गर्नु भनेको त मानिसको धर्म हो । मैले सानोमा आमाबाबु गुमाएँ । म अरूले पनि मैले जसरी आमाबाबुको माया गुमाउनु नपरोस् भनेर म सबैको आमाबाबुलाई विपत्ति पर्दा सहयोग गर्छु, माया गर्छु ।”

सीताको कुरा सुनेर हरि भावुक भए । हरिले सीतालाई भन्यो, “सीता हाम्रो छिमेकी गाउँमा बाढी गएको छ । हामीले त्यहाँ गएर उद्धार गरेर केही राहत दिनुपर्छ ।” सीताले भनिन्, “तिमीले ठीक कुरा ग-यौ । हामी सबै मिलेर त्यहाँ उद्धार गर्न जानुपर्छ ।” 

यता किसनपुर गाउँमा भने पानी परेको प-यै गरेर बिजोग भएको थियो । सीता र उसको टोली किसनपुर गाउँमा उद्धार गर्न गयो । सीता त्यहाँ पुग्दा बच्चाहरू भोकाएर ‘खाना देऊ, देऊ’ भनेको, चिसो भएर काँपिरहेको देख्दा उनको आँसु थामिनसक्नु भयो । उनी यो सब देखेपछि भक्कानो छोडेर रुन थालिन् । हरिले भन्यो, “सीता आफूलाई सम्हाल । अब हामी यहाँको सबै मानिसलाई उद्धार गर्नुपर्छ ।”

सीता र उसको उद्धार टोलीले बच्चाहरू, वृद्धहरूलगायत सबै मानिसलाई उद्धार गर्दै थिए । उनीहरूले पानीमा डुबेर मरेको शवहरू एक ठाउँमा राखे र बाँचेकाहरूलाई अस्पतालमा लगे । सीताले ती सब मानिसहरूलाई लत्ताकपडा, खानेकुरा र बस्ने स्थान दिइन् । किसनपुरका मानिसले सीतालाई भने, “नानी, तिमी हाम्रो लागि साक्षात् भगवान्को स्वरूप हौ । तिमी नआएको भए हामी सबै डुबानमा पथ्र्यौं ।” त्यहाँ सबै मानिसले सीता र उसको टोलीलाई आशिष दिँदै धन्यवाद दिए ।

उनीहरू उद्धार गर्दै जाँदा सीताले आँपको बोट भएको ठाउँमा बच्चा रोइरहेको आवाज सुनी । सीता त्यहाँ जाँदा त्यो बच्चाको शरीरमा एकसरो कपडासमेत थिएन । सीताले त्यो बच्चालाई हातमा समाउँदै सोधिन्, “बाबु तिम्रो नाम के हो ? तिम्रा आमाबुवाको नाम के हो ?” बच्चाले भन्यो, “मेरो नाम राम हो । मेरी आमाको नाम उर्वशी र बुवाको नाम ललित हो ।” राम तिमी अब मसँग हिँड । सीताले रामलाई उद्धार गरेर लगी ।

राम भने आफ्नो आमाबुवा सम्झेर रुन थाल्यो । सीताले यो सब देख्दा सीताको आँखाबाट आँसु झ-यो । उनले मनमनै आफ्नो पहिलेको क्षणहरू सम्झिन्, “म सानो हुँदा आमाबुवा बित्दा म यसरी नै रोएको थिएँ । मलाई सबैले टुहुरी भनेर हेप्ने, गिज्याउने गर्थे, गाउँलेले पनि हेप्थे, लाउने एकसरो लुगा हुँदैनथ्यो, एक छाक खाने खाना हुँदैनथ्यो ।” भनेर सम्झिन् । यी सबै कुरा सम्झिँदा सीतालाई त्यो एउटा सपनाजस्तो लागेको थियो ।

सीता आँसु पुछ्दै रामलाई लगेर गई किनभने सीतालाई रामको हालत पनि आफ्नोजस्तै हुन्छ भन्ने डर थियो । सीताले रामको बुवाआमा खोज्न आफ्नो उद्धार टोली खटाइन् तर जति गरे पनि भेटाउन सकिएन । सीताले नभेटाएपछि रामलाई आफ्नो घरमा लगिन् । उनले रामलाई सोधिन्, “राम तिमी के खान्छौ ? तिमी जे भन्छौ म त्यही ल्याएर दिन्छु ।” रामले भन्यो, “म केही पनि खाँदिन । मलाई मेरो बुवाआमा चाहियो ।”

सीतालाई रामको यो हालत देखेर एकदमै दुःख लाग्यो । सीताले पनि आमाबुवा नभएपछि एक छाक खानसमेत कति दुःख गर्नुपर्छ भन्ने कुरा भोगेकी थिई । उनले रातदिन केही नभनीकन रामका आमाबुवा खोजिरहिन् । हरिले सीतालाई सोध्यो, “सीता तिमी किन यसरी पागलझैँ रामका बुवाआमा खोजिरहेकी छौ ? जुन तिमीलाई थाहा छ भेटिँदैनन् ।” सीताले भनी, “तिमी बुझ्दैनौ हरि, आमाबुवा नभएपछि कति सङ्घर्ष गर्नुपर्छ, न त कसैले केही दिन्छ । 

अरूले हेला मात्र गर्छन् । आफू बाँच्न आफैँले केही नभनी सङ्घर्ष गनुपर्छ । मलाई आज सबैले सम्मान गर्छन्, यो सब मैले गरेको मेहनतले गर्दा हो । मेरो त खुसी खोसियो तर अरूको खुसी नखोसियोस् भन्ने चाहन्छुृ ।” सीताको कुरा सुनेर हरिलाई अप्ठ्यारो महसुस भयो ।

केही दिनपछि उद्धार टोलीले रामका आमाबुवाको शव फेला पारे । यो कुरा सीताले थाहा पाइन् । सीतालाई किन किन आफ्नो बुवाआमा बितेजस्तै लागेको थियो । सीता दुःखी हुँदै रुँदै घर गइन् । घरमा  रामले सीतालाई कुरिरहेको थियो । रामले सोध्यो, “दिदी, मेरो बुवाआमा कहाँ हुनुहुन्छ ?” सीताले भनिन्, “राम म तिमीलाई कसरी भनूँ, तिम्रो बुवाआमा यो धर्तीमा हुनुहुन्न । तिमीले चाहेर पनि आमाबुवालाई फिर्ता ल्याउन सक्दैनौ ।”

रामले यो सब कुरा थाहा पाएपछि उसको मन छियाछिया भयो । उसले यो सब कुरा पत्याउन सकिरहेको थिएन । ऊ बेस्सरी रोएर बस्यो । सीताले भनिन्, “बाबु तिमी नरोऊ, म पनि एउटी टुहुरी हुँ । तिमीलाई कति पीडा भइरहेको छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । तिमी यसरी रुनु हुँदैन । जन्म र मृत्यु सृष्टिको नियम हो । फरक यति हो, कोही छिटो त कोही ढिलो । 

तिमी रुनु हुँदैन । आफूले आफूलाई समालेर राम्रोसँग पढ्नुपर्छ । तिमीले राम्रोसँग पढेमा तिम्रो आमाबुवाको नाम रोशन हुनेछ ।” सीताले यति भनिसकेपछि उनले रामको आँसु पुछिदिइन् र फेरि भनिन्, “अब, तिमी मसँग बस । मैले तिमीलाई पढाउँछु ।” रामले “हवस्” भन्दै टाउको हल्लायो । सीताले उसलाई राम्रो विद्यालयमा भर्ना गरिदिइन्  । उसले एकदमै मेहनत गरेर पढ्यो, ऊ कक्षामा प्रथम हुन थाल्यो । रामको मेहनत देखेर सबै खुसी थिए । सानैदेखि रामको रुचि चिकित्सा क्षेत्रमा थियो । उसले जीवनमा धेरै सङ्घर्ष ग-यो । ऊ रातभरि नसुती पढ्यो, खान पैँसा नहुँदा नखाई पढ्यो, लुगा च्यातेकै लगाएर भए पनि पढ्यो । यसरी निरन्तरको मेहनतपछि राम चिकित्सक बन्यो ।

राम चिकित्सक बनेपछि उसले आमाबुवाको नामबाट अस्पताल स्थापना ग-यो । यो सबै प्रगति देखेर सीता एकदमै खुसी भइन् । उनको कारणले एउटा टुहुराको जीवन राम्रो भएको देख्दा उनको आँखाबाट खुसीको आँसु झ-यो । रामले आमाबाबुको नामबाट अनाथ आश्रम पनि स्थापना ग-यो । उसले त्यहाँ आफूजस्तै टुहुरा बच्चाहरूको भविष्य राम्रो बनाउन र आफूले जस्तै दुःख अरूले नपाओस् भनेर अनाथ आश्रम खोलेको थियो ।

त्यसपछि अनाथ बच्चाहरू त्यहाँ पढ्न, बस्न थाले । यसरी राम जीवनमा एक सफल मानिस बन्यो र बुवाआमाको नामसमेत रोशन ग-यो ।