श्रीअंश श्रेष्ठ
यही मङ्सिर ९ गते हाम्रो विद्यालयले हामीलाई चिडियाखानाको भ्रमण लगेको थियो । विद्यालयको तर्फबाट मेरो शिक्षकले भनेअनुसार बिहान ९:३० बजे विद्यालय पुगेँ । चिडियाखाना जानका लागि नर्सरीदेखि ५ कक्षासम्मका विद्याथी थियौँ । शिक्षकले बताउनुभएअनुसार विद्यार्थीहरू चौरासी जना थिए भने शिक्षकहरू पाँच जना थिए ।
१०:३० बजे बस विद्यालयको चौरबाट गुड्यो । बसको झ्यालबाट बागमती नदीको पुलबाट मैले चोभार भन्ने ठाउँ पनि देखेँ । बस नख्खु हुँदै एकान्तकुनाबाट चक्रपथमा पुग्यो । त्यहाँ ट्राफिक जाम रहेछ । हाम्रो बसको चालकले ट्राफिक प्रहरीको इसाराअनुसार बस रोक्नुभयो । ठाउँठाउँमा ट्राफिक नियम पालना गर्दै बस अगाडि बढ्यो । प्रत्यक्ष देख्दा झन् रमाइलो लाग्यो ।
त्यसपछि हाम्रो बस चक्रपथ पार गरेर जावलाखेल लाग्यो । जावलाखेलको चोकमा पुगेपछि हाम्रो बस बायाँतिर मोडियो र रोकियो । बस रोकिएपछि शिक्षकले भन्नुभयो, “हतार नगरी विस्तारै ओर्लनुहोस् ।” अरू साथीहरूसँग म पनि ब्याग लिएर तल झरेँ । यसरी सबै साथीहरू बसबाट पालैपालो झर्दा मनमा रमाइलो लाग्यो । सधैँ बस चढेर घुम्न पाए पनि हुन्थ्यो भन्ने लाग्यो । हामी लाइनमा थियौँ । मैले गेटभन्दा माथि लेखेको सदर चिडियाखाना भन्ने साइनबोर्ड पढेँ । मैले पढेको सुनेर बद्री सरले भन्नुभयो, “तिमीहरूलाई थाहा छ ? सदर भनेको मुख्य हो भने चिडियाखाना भनेको सबैलाई चरा र जङ्गली जनावर हेर्नका लागि बनाइएको घर हो ।”
त्यसपछि हामीलाई सिर्जना मिसले चिडियाखानाको जानकरी दिँदै भन्नुभयो, “यो चिडियखाना १९८८ सालमा स्थापना भएको हो । यो राणा प्रधानमन्त्री जुद्धशमशेरले बनाएका हुन् । यसलाई अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गरे, नेपालमा २००७ सालमा प्रजातन्त्र आयो । त्यसपछि २०१२ सालबाट यो सबैले हेर्न पाउने गरी खोलिएको हो ।” मिसले भन्नुभएका कुरा हामी सबैले कापीमा टिप्यौँ ।
पहिला मैले त चराहरूको घरलाई चिडियाखाना भन्ने बुझेको थिएँ तर त्यो होइन रहेछ । त्यसपछि हामी बायाँतिर लाग्यौँ । त्यहाँ पिङ, चिप्लेटी, ढिकीच्याउँजस्ता खेल्ने कुरा रहेछ । हामीले त्यो ठाउँ पार गरी अगाडि बढ्यौँ । त्यहाँ मैले पानीमा भएको तीनवटा गोही देखेँ । त्यहाँबाट अगाडि बढ्दै जाँदा जरायो, मृग, बाँदर र बाँदरले आफ्नो बच्चा अँगालो हालेको देखेँ । चिडियाखानामा हामीले भालु, चितुवा, गैँडा देख्यौँ । हात्तीमा मान्छे चढेको देखेँ । हात्तीको टाउको लट्ठीले कुटेर हो कि किचिएको घाउजस्तै थियो । त्यसपछि हामीले वनबिरालो, निगाले चितुवा, बँदेल, स्याल, नीलगाई, जलगैँडा पनि देख्यौँ । त्यसपछि हामी चरा भएको ठाउँमा गयौँ । त्यहाँ हामीले डाँफे, ढुकुर, सुगा, परेवा, मयूर, लाटोकोसेरो, अस्ट्रिच हे-यौँ । अस्ट्रिच मान्छेभन्दा ठूला हुँदा रहेछन् । तिनीहरू हिँड्दा हामी दौडे पनि भेट्न नसक्ने रहेछौँ ।
त्यसपछि शिक्षकले हामीलाई चिडियाखानाभित्रको खाली चौरमा जम्मा गर्नुभयो । समूहमा बसेँ । हाम्रो समूहमा हाम्रो कक्षाका चौध जना थियौँ । मेरो छेउमा साथी अभिनव थियो । सिर्जना मिसले सबैलाई खाजा झिक्न लगाउनुभयो । मैले घरबाट बारा, भुटेको चिउरा, आलुको तरकारी र स्याउ लगेको थिएँ । अरू साथीहरूले दालमोठ, चना, रोटी लगेका थिए ।
घरबाट फरक–फरक खाजा लगे पनि हामीले बाँडी बाँडी खायौँ । खाजा खाएपछि हामी सबैले पिङ, चिप्लेटी र ढिकीच्याउँ खेल्यौँ । त्यसपछि हामीले केही फोटाहरू खिच्यौँ ।
हामी फेरि लाइनबाट चिडियाखाना बाहिर आएर बस चढ्यौँ र ठीक ४:०० बजे विद्यालयको चौरमा झ-यौँ । किताबका पानाहरूमा मात्र देखेका ती जनावर चराहरूलाई आज प्रत्यक्ष देख्न पाउँदा मनमा ज्यादै खुसी लाग्यो । आजको यो भ्रमण म कहिले भुल्दिनँ ।.