• २३ असार २०८१, आइतबार

प्रदेश १ माओवादी केन्द्र दलको नेतामा आङ्बो सर्वसम्मत

blog

प्रदेश १ प्रदेश सभाको संसदीय दलको नेता सर्वसम्मत निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का नेता इन्द्रबहादुर आङ्बो। तस्बिर : शशिधर पराजुली

विराटनगर समाचारदाता

विराटनगर, पुस १२ गते। नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर १ संसदीय दलको नेता चयन गरेको छ। प्रदेश सभामा मंगलबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत दलको नेतामा निर्वाचित गरेको हो। 

बैठकमा पाँचथरको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभामा निर्वाचित हुनुभएका आङ्बोलाई दलको नेता बनाउनु उपयुक्त हुने पार्टीका केन्द्रीय सचिव राम कार्की ‘पार्थ’ले प्रस्ताव गर्नुभएको थियो। पार्टी सचिव कार्कीको प्रस्ताव सर्वसम्मतिले पारित भएको नेता आङ्बोले जानकारी दिनुभयो। 

माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर बुर्जा मगरको अध्यक्षतामा बसेको बैठकले आङ्बोलाई सर्वसम्मत नेता चयन गरेको पार्टीका प्रदेश सचिवसमेत रहनुभएका  प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिनुभयो। 

दलको नेतामा दाबी गर्दै आउनुभएका अर्का सांसद दुर्गाप्रसाद चापागाईंले बैठकमा भने उम्मेदवारी प्रस्तुत नगर्नुभएको बैठकमा सहभागी एक सांसदले जानकारी दिनुभयो। ‘उहाँले घुमाउरो ढंगले इच्छा त जाहेर गर्नुभयो तर म पनि उम्मेदवार हुँ नभनेपछि आङ्बोको नाममा सर्वसम्मती भयो। तेह्रथुम २ बाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले दलको नेतामा आफ्नो दाबी रहेको बताउनुभएको थियो। छलफलमा उहाँले आङ्बोलाई समर्थन गर्नुभएपछि सहमति बनेको हो। 

दलको नेतामा निर्वाचित भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मन्त्री आङ्बोले प्रदेश १ मा माओवादीले मुख्यमन्त्री दाबी गरेको बताउनुभयो। उहाँले सरकारको नेतृत्व नपाए आफू मन्त्री नबन्ने घोषणा पनि गर्नुभएको छ। 

संसदीय दलको बैठकमा माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इन्चार्ज राम कार्की, प्रदेशका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङसमेत सहभागी हुनुभएको थियो।