• १९ असोज २०८१, शनिबार

हुम्लाको सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

blog

सिमकोट गाउँपालिकाको कार्यालय। तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला पुस १२ गते। आन्तरिक आयस्राेत नभएको सिमकोट गाउँपालिका अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ। गाउँपालिकाद्वारा निर्धारण गरिएका करका शीर्षकमा कडाइ गर्दा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको हो। 

गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले आर्थिक वर्ष ०७८।०७९ मा २० लाख लक्ष्य राखेकोमा ३१ लाख असुली भएको जानकारी दिनुभयो। उहाँले यस अघिका वर्षमा सातदेखि १२ लाखसम्म राजस्व असुली हुने गरेको बताउनुभयो। 

गाउँपालिकाले घरबहाल कर असुलीलाई अनिवार्य गरेसँगै राजस्व बढेको उहाँको भनाइ छ। यो वर्ष गाउँपालिकाले ५० लाख आन्तरक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। त्यसमा हालसम्म दश लाखभन्दा बढी राजस्व सङ्कलन भइसकेको लेखा शाखाले जनाएको छ।

 छ वटा गाउँपालिकाको राजस्व सङ्कलन कम

सिमकोट गाउँपालिकाले राजस्व सङ्कलनमा सफलता प्राप्त गरेको भए पनि जिल्लाका अन्य छ वटा गाउँपालिकाको राजस्व सङ्कलनको अवस्था कमजोर देखिएको छ। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अघिल्लो वर्ष चार लाख मात्र राजस्व असुली भएको जानकारी दिनुभयो। 

खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाको अवस्था उस्तै छ। ती गाउँपालिकाका अनुसार दुईदेखि तीन लाख मात्र वार्षिक राजस्व असुली हुँदै आएको छ।