• १९ असोज २०८१, शनिबार

बिनाभनसुन, घुस नखुवाईकन काम हुनुपर्छ : मन्त्री श्रेष्ठ

blog

काठमाडौँ, पुस १२ गते । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन, घुस नखुवाईकन हुने दिन सुरुवात गर्नुपर्ने बताउनुभएको छ। 

मन्त्रालयमा सोमबार बेलुका पदभार ग्रहण गर्दै उहाँले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य बन्द हुनुपर्नेमा जोड दिनुभयो। संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन हुनेसमेत बताउनुभयो। 

उहाँले भन्नुभयो, “भ्रष्ट्राचार गर्नेले वा पैसालाई मात्र केन्द्रबिन्दुमा राख्नेले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु। ऐन, नियम आफैँ बनाउँछु भन्ने दिन अब गए भनेर बुझ्दा हुन्छ।” उहाँले मन्त्रालयलाई दिएको जिम्मेवारी समयमै गुणस्तरीय किसिमले सम्पन्न गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो। 

आफूले यस मन्त्रालयमा एउटा फोटोमात्र झुन्ड्याउन आएको होइन, केही गर्नुपर्छ भनेर आएको उहाँले बताउनुभयो। यदि नेतृत्वसँग स्पष्ट दृष्टिकोण र स्वच्छता छ भने कर्मचारी सहयोगी हुन बाध्य हुने उहाँको ठम्याइ छ। 

नियमसङ्गत हुने काममा पनि जनतालाई पटक–पटक मन्त्रालय धाउन लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै उहाँले संविधान, नियमअनुसार हुने काममा दस पटक फोन गर्नुपर्ने किन ? मन्त्रालय धाउनुपर्ने किन ? भन्ने प्रश्नसमेत गर्नुभयो। मन्त्रालयको यस्तो तरिकामा आमूल परिवर्तन आवश्यक रहेको उहाँको बुझाइ छ। ठेकेदारको कुनै जायज समस्या छ भने सबै मिलेर सल्लाह गरी समाधान गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले सार्वजनिक सडकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिन कार्यदल गठन गर्नेसम्बन्धमा भएको निर्णयमा हस्ताक्षर गर्नुभयो।