हरिकृष्ण ऐडी
मुगु, जेठ २ गते । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले नगरपालिका बाट प्राप्त गर्ने तलब, भत्ता एम्बुलेन्स खरिदमा खर्च गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
नगरबासीका लागि आर्थिक वर्ष २०८२–८३ भित्र दुई वटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने बताउनुभएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले भन्नुभयो, “मैले चुनावमा गरेको प्रतिबद्धता अनुसार नेपाल सरकारबाट मैले पाउँदैआएको सेवा सुबिधाबाट जोहो गरेर छायाँनाथ रारा नगरपालिका –१ देखि १४ सम्मका समुदायको सहजताका लागि यो आर्थिक वर्षभित्र दुईवटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी रहेको छु ।”
नगर प्रमुख भामले आफू २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित हुँदा नेपाल सरकारबाट पाउने सबै सेवा सुबिधा नगरका विपन्न समुदायलाई विभिन्न राहतको कार्यक्रम गर्दैआएको बताउनुभयो ।
नगर प्रमुख भामले हरेक साता शनिवारका दिन नगरका सार्वजनिक ठाउँमा पानीको धारा, सार्वजनिक गोरेटो बाटो त्यसैगरी बस्नलाई चौतारी निर्माणमा सहयोग गर्दैआउनुभएको बताउनुभयो ।
नगर प्रमुख भामले हालसम्म छायाँनाथ रारा नगरपालिकाबाट प्राप्त भत्ता, पारिश्रमिक र सुविधा बापत ५० लाख ५८ हजार ५ सय ४३ रुपियाँ प्राप्त गरेको बताउनुभएको छ । उहाँले सामाजिक कार्यमा हालसम्म ५१ लाख ४२ हजार ३ सय २० रुपियाँ खर्च गरेको बताउनुभएको छ ।