• १९ असोज २०८१, शनिबार

सुकीविरूद्धको मुद्दामा अन्तिम बहस

blog

याङ्गुन, पुस ११ गते । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आउनुभएको छ ।

नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयता सम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ ।

अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारको ‘कु’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्तालाई आग्रह गरेको छ ।

सुरक्षा परिषद्का स्थायी सदस्य र जुन्टाका निकट सहयोगी चीन र रुसले उक्त शब्दावलीमा संशोधनपछि भिटो प्रयोग नगर्ने निर्णय गरेपछि यो प्रस्तावले सापेक्षिक परिषद् एकताको क्षणलाई चिह्नित गरेको छ ।

सुकीको कानुनी टोली र जुन्ताका वकिलले भ्रष्टाचारका बाँकी पाँच वटा अभियोगमा सोमबार अन्तिम बहस गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

“आजको बहसपछि फैसला सुनाइनेछ,” स्रोतले भन्यो, यद्यपि, फैसला सुनाइने मिति भने तय भइसकेको छैन । सुकीको यसअघिको मुद्दाको फैसला सामान्यतया अन्तिम बहसको केही दिनपछि आउने गरेको छ ।

भ्रष्टाचारको अभियोगमा बढीमा १५ वर्ष जेल सजाय हुने व्यवस्था छ । यसअघिका भ्रष्टाचारका मुद्दामा अदालतले सुकीलाई तीन वर्षको जेल सजाय सुनाइसकेको छ ।

सुकीले हाल राजधानी न्यापितको एक घेराबन्दी गरिएको घरभित्र कैदीका रूपमा दिन बिताउँदै आउनुभएको छ ।

उहाँको मुद्दा त्यही चलिरहेको छ र उहाँलाई घरका सदस्य उहाँका सहयोगी कर्मचारी र उहाँको कुकुर ताइचिडोलाई भेट्न वञ्चित गरिएको छ ।

‘कु’ पछि, उहाँ धेरै हदसम्म दृश्यबाट गायब हुनुभएको छ । यदाकदा आउने तस्बिरहरू जुन्ताप्रति बफादार सञ्चारमाध्यममार्फत आउने फोटोहरूमा मात्र सीमित छन् ।

केही स्थापित जातीय विद्रोही समूहले सीमावर्ती क्षेत्रमा सेनासँग पुनः लडाइँ सुरु गरेका छन् भने म्यानमारको अर्थतन्त्र धराशायी भएको छ ।

सुकीको अहिंसाको कडा नीतिलाई बेवास्ता गर्ने दर्जनौँ ‘पिपुल्स डिफेन्स फोर्सेज’ले पनि जुन्तासँग लड्नका लागि उदय भएको र यसको प्रभावकारिताले सेनालाई आश्चर्यचकित पारेको विश्लेषकहरूले बताएका छन् ।

तल्लो स्तरका जुन्ता अधिकारीहरू वा ‘कु’ विरोधी लडाकुहरूको लगभग दैनिक हत्याहरू भइरहेको छ । हत्या, अपहरण र पक्राउका विवरणहरू अस्पष्ट छन् र प्रतिशोधहरू प्रायः चाँडै पछ्याइन्छ ।

विश्लेषकहरूका अनुसार जुन्ताले अर्को वर्ष हुने निर्वाचनको तयारी गरिरहेको छ र सुकीलाई नजरबन्दमा सजायको केही समय बिताउन अनुमति दिन सक्छ । सन् २०२० को चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले जितेको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै सेनाले सुकीलाई अपदस्थ गरी आफूप्रति बफादार नेतृत्वमा सत्ताको बागडोर सम्हालेको थियो ।

स्थानीय निगरानी समूहका अनुसार असहमतिविरुद्ध सेनाले गरेको कारबाहीमा दुई हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको र सर्वसाधारणमाथि हवाई आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । पछिल्लो पटक जुन्ता सरकारले जारी गरेको रिपोर्टमा मृत्यु हुनेको सङ्ख्या चार हजारभन्दा बढी पुगेको छ । रासस/सिन्ह्वा