• २१ असार २०८१, शुक्रबार

भेडेटारमा खाना महोत्सव हुँदै

blog

भेडेटार खाना महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन

कविराज घिमिरे

हिले, पौस ९ गते। पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा तीनदिने दसौँ भेडेटार खाना महोत्सव आयोजना हुने भएको छ। 

अपसिजनमा पर्यटक भित्र्याउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। होटल एसोसिएसन अफ भेडेटारले शनिबार पत्रकार सम्मेलन गर्दै पुस १६ देखि १८ गतेसम्म महोत्सव गर्ने जानकारी दिएको हो।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिनुभयो।

तीन दिनसम्म चल्ने महोत्सवमा विभिन्न जाति परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टल राखिने आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ। 

फेष्टिवल अवधिमा भेडेटारमा विभिन्न पर्यटकीय गतिविधि पनि हुनेछन्। यही अवधिमा हेलिफन फ्लाइट, प्याराग्लाइडिङ सञ्चालन गरिनेछ। यो सिजनमा पर्यटकको सङ्ख्यामा कमी हुने भएकाले पर्यटक आकर्षण गर्न फेष्टिवल आयोजना गरिन लागेका होटल एसोसिएसन भेडेटारका पूर्व अध्यक्ष विष्णुराज श्रेष्ठले जानकारी दिनुभयो।

धरानदेखि करिब १७ किलोमिटर उत्तरमा तथा धनकुटाबाट ३५ किलोमिटर दक्षिणमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेको र यसको अझै प्रचारप्रसार गर्न सक्यो भने पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा महोत्सव आयोजना गर्ने लागिएको हो। 

महोत्सवमा करिब २० हजार पर्यटक सहभागी हुने आयोजकको अनुमान छ। करिब १५ लाख खर्च हुने अनुमान गरिएको महोत्सवको अवधिमा भेडेटारमा करिब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ। एसोसिएसनले यो सिजनमा पर्यटक आकर्षण गर्ने बर्सेनि महोत्सवको आयोजना गर्दै आएको छ।