• १३ मंसिर २०८१, बिहिबार

म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिएको खुलासा

blog

काठमाडौं, पुस ९ गते । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साबिक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहम्मद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साबिक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको  पाइएको उहाँले बताउनुभयो । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ ।

झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कोइरालाले बताउनुभयो ।