• १२ मंसिर २०८१, बुधबार

पुस १४ मा बागमती प्रदेश सभा सदस्यको शपथ

blog

बागमती प्रदेशको हेटौँडामा रहेको प्रदेश सभा सचिवालय भवन । तस्बिरः राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, पुस ९ गते । बागमती प्रदेशको प्रदेश सभाका सदस्यहरूको शपथ बिहीबार पुस १४ गते हुनेभएको छ । प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राख्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेश प्रमुखबाट प्रदेश सभाका ज्येष्ठ सदस्य पुस १३ गते बुधबार र ज्येष्ठ सदस्यले बाँकी प्रदेश सभाका सदस्यलाई शपथ गराउने गरी सर्वदलीय बैठकले निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक वा त्यसको कुनै समितिमा भाग लिनुअघि प्रदेश कानुनअनुसार शपथ लिनुपर्ने संविधानमा व्यवस्था छ । 

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाका ज्येष्ठ सदस्य र सदस्यलाई शपथ गराउन बागमती प्रदेश सभा सचिवालयले तयारी गरेको छ । प्रदेश सभाका सदस्यमध्ये उमेरका हिसाबले सबैभन्दा बढी उमेर भएको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले प्रदेश सभाका १०९ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । 

प्रदेश सभाका सदस्यको शपथ ग्रहण कार्यक्रममा बिहीबार दिउँसो २ बजेका लागि हेटौँडा १० स्थित बागमती प्रदेश सभा सचिवालयमा तय गरिएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यलाई शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको सक्कल र प्रतिलिपि प्रमाणपत्र, नागरिकको सक्कल र प्रतिलिपि प्रमाणपत्र र हालसालै खिचेको ६ प्रति फोटोसहित अनिवार्य उपस्थितिका लागि सूचना जारी गरेको छ । 

साथै, प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि तीन दिन अगावै प्रदेश सभा सचिवालयमा उपलब्ध गराउन प्रदेश सभाका सदस्यलाई आग्रह गरेको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले बुझाएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणाम अनुसार बागमती प्रदेश सभाको ज्येष्ठ सदस्य नुवाकोट जिल्लाबाट प्रत्यक्ष प्रणालीतर्फ निर्वाचित नेकपा (माओवादी केन्द्र) का रामप्रसाद ढुङ्गाना रहनुभएको छ । नुवाकोटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं. २ को (क) बाट निर्वाचित ७२ वर्षीय ढुङ्गानालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । प्रदेश प्रमुखबाट शपथ लिएपछि ज्येष्ठ सदस्य ढुङ्गानाले प्रदेश सभा सदस्यलाई शपथ गराउनु हुनेछ । 

यसैबीच प्रदेश सभाका सदस्यहरूको शपथपछि प्रदेश प्रमुखबाट प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ र १८ गतेमध्ये कुनै दिन आव्हान गर्न उपयुक्त हुने बारेमा समेत सर्वदलीय बैठकमा छलफल भएको छ । 

प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको २० दिनभित्रमा प्रदेश प्रमुखले प्रदेश सभाको आव्हान गर्नुपर्ने हुन्छ ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने प्रदेश सभाको बैठकले प्रदेश सभामुखको चयन गर्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको प्रदेश सभाका सदस्यमध्येबाट निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।