• १९ पुस २०८१, शुक्रबार

महानगरको बालिका बीमा कार्यक्रम

जन्मनासाथ जन्मदर्ता गर्ने बढे

blog

शान्ता अधिकारी

चितवन, पुस ९ गते । भरतपुर महानगरपालिकाले निःशुल्क बालिका बीमा कार्यक्रम (बाल उमङ्ग जीवन बीमा) सुरु गरेपछि यहाँ समयमा जन्मदर्ता गर्ने क्रम बढेको छ। महानगरपालिका प्रमुख रेनु दाहालले बीमा कार्यक्रम लागू भएयता ३५ दिन नकटाई जन्मदर्ता गर्ने क्रम बढेको जानकारी दिनुभयो। उहाँले लिङ्ग पहिचान गरी हुने गरेको भ्रूण हत्याजस्ता जघन्य अपराधमा समेत कमी गर्न सकिन्छ भन्ने ध्येयले उक्त कार्यक्रम राखिएको बताउनुभयो। 

महानगर प्रमुख दाहालले गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन पछि जेठ ११ गते दोस्रो कार्यकाल पद बाहालीको पहिलो निर्णयमा निःशुल्क बालिका बीमाको निर्णमा हस्ताक्षर गर्नुभएको थियो। महानगरभित्र स्थायी बसोबास गर्ने परिवारमा जन्मेकी बालिकाको महानगरले निःशुल्क एक लाख रुपियाँ बराबरको जीवन बीमा गर्ने व्यवस्था सुरु गरेको छ।

महानगर प्रमुख दाहालले पहिलो कार्यकालमा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाको टिकट निःशुल्क गरिदिने निर्णय गरेको र दोस्रो कार्यकालमा पनि महिलाकै पक्षमा बालिका बीमाको कार्यक्रम ल्याएको बताउनुभयो। मेयरसँग महिला, छात्रालाई साइकल वितरण, छात्रालाई छात्रवृत्तिजस्ता महिलाकेन्द्रित कार्यक्रम पनि महानगरमा सञ्चालनमा छन्। उक्त बीमा आलेखका लागि महानगरले प्रतिवर्ष तीन हजार तीन सय रुपियाँका दरले १५ वर्षसम्म बीमा प्रिमियम बुझाउनुपर्ने हुन्छ। बीमा गरिएका बालिकाले १६ वर्ष लाग्दै गर्दा एक लाख रुपियाँ नगद पाउँछन्।

महानगरले दिएको जानकारीअनुसार जेठ ११ यता जन्मेका १५३ बालिकाको नाममा निवेदन दर्ता भएको छ। महानगरले शुक्रबार सम्झौता भएका ७२ जना बालिकाका अभिभावकलाई बीमा गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।