• १ माघ २०८२, बिहिबार

किसानलाई सम्मान र संरक्षण आवश्यक

blog

साना किसान कृषि सहकारीको साधारण सभामा मधेश प्रदेशका सभामुख रामआशिष यादवलगायत । तस्बिर : जीवछ यादव

लहान समाचारदाता

लहान (सिराहा), माघ १  गते  । मधेश प्रदेशका सभामुख रामआशिष यादवले मधेशको समृद्धिका लागि किसानलाई सम्मान र कृषिसँग जोडिएको व्यवसायलाई संरक्षण गर्नुपर्ने आवश्यकता आैँल्याउनु भएको छ । लहान–११ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले कृषि प्रधान देशमा कृषिका लागि उपयुक्त रहेको मधेश प्रदेशका किसान अहिलेसम्म सम्मानित नभएका कारण कृषिमोह भङ्ग भइरहेकाले यसतर्फ सरकार र सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो, “मुलुकको समृद्धि र विकासको प्रमुख आधार कृषि र पर्यटन नै रहेकाले यसतर्फ केन्द्रित हुनु जरुरी छ ।” 

उहाँले साना किसान सहकारी संस्था पडरियाले गरेको नमुना कार्य प्रदेश सरकारका लागि गौरवको विषय भएको बताउनु भयो । उहाँले सात प्रतिशतमा ऋण, नौ प्रतिशत ब्याज, रोजगारी र उद्यमशीलतामा महिलालाई दिइएको प्राथमिकता सराहनीय भएको उल्लेख गर्नु भयो । उहाँले किसान कार्ड, पशु बिमा सहुलियतमा ऋण र कृषिसँग आबद्ध व्यवसायको संरक्षण गर्न आफूले पनि सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

सभामुख यादवले मधेशको कृषि महिलाले नै थामेको चर्चा गर्दै वैदेशिक रोजगारीमा जाने युवालाई पनि कृषिमा नै आकर्षित गर्ने किसिमका योजना ल्याउनु पर्ने आवश्यकता आैँल्याउनु भयो । 

कार्यव्रmममा प्रदेश सभा सदस्य सहिदा खातुन ललिता दास र राजेन्द्रप्रसाद चौधरीले सहकारीमा महिला सहभागिता र उद्यमशीलताबाट नौ करोड रुपियाँ बचत गरेर आफ्नो कार्यक्षेत्रमा साहु महाजनसँग मिटर ब्याजमा चर्को दरमा ऋण लिनु पर्ने बाध्यताको अन्त्य भएको दाबी गर्नु भयो ।

उहाँहरूले लहान–११, पडरियामा जग्गा लिजमा लिएर निर्माण सुरु गरेको शीतभण्डार अहिलेसम्म अलपत्र रहेको विषय मधेश प्रदेशमा पटक पटक उठाउँदा पनि सरकारको ध्यान नजानु विडम्बना भएको भन्दै सभामुख यादवको ध्यानाकर्षण गराउनु भयो । 

विगतका वर्षमा शतप्रतिशत असुली गरिएको साना किसान कृषि सहकारी संस्था पडरियाले यस वर्ष ९८ प्रतिशत असुली गरिएको जानकारी दिनु भयो । सहकारीमा ९५ प्रतिशत सेयर होल्डर रहेको अध्यक्ष मागैन कामैतले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “यस वर्ष पडरिया चोकमा कृषि हाटबजार दुध, मासु उत्पादन र तरकारी खेतीमा प्रोत्साहन गर्ने कार्यव्रmमलाई प्राथमिकतामा राखिएको छ ।”

प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले संसद् कोषबाट ४९ लाख रुपियाँ भवन निर्माणका लागि बजेट विनियोजन भएको बताउनु भयो । कार्यव्रmममा सात जना विद्यार्थी र साना किसान सहकारीका एक सय वर्ष उमेर भएकी गर्भु रामलाई नगदसहित सम्मान गरिएको थियो ।