भवानीदत्त भट्ट
कञ्चनपुर, पुस ३० गते । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । बुधवार काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ७४ वर्षीय नेता बोहराले प्राण त्याग गर्नुभयो ।
विगत तीन दशकयता मधुमेहको नियमित औषधि सेवन गर्दै आउनुभएका नेपाली काँग्रेस कञ्चनपुरका संस्थापन नेता बोहराको किड्नीमा समस्यादेखि पछि काठमाडौँमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँले बुधबार दिउँसो ३ बजे प्राण त्याग गर्नुभएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बताउनुभयो ।
नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रुपमा लागेका राष्ट्रिय सभा सदस्य बोहरा स्वच्छ छविको नेताको रूपमा परिचित हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका लागि लड्नु भएका नेता बोहरा युवा पुस्तालाई सदैव अगाडि बढ्न प्रेरित गर्दै आउनु भएको थियो ।
विसं २०३६ सालमा नेता बोहराले विद्यार्थी आन्दोलनको दौरान नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पर्कमा रहेर नेपाली काग्रेसको राजनीतिक जीवन सुरु गर्नुभयो । काँग्रेसमा इमानदार र स्वच्छ छविका रूपमा परिचित नेता बोहरा २०४२ सालमा साबिक सुडा गाउँ पञ्चायतमा लडे पनि पराजय बेहोर्नुपरेको थियो । पराजित भएपछि उहाँले समाज सेवालाई सधैँ अगाडि राखेर थप राजनीतिक जीवनलाई निरन्तरता दिनुभयो ।
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ७ हजारा स्थायी घर भएका बोहरा विसं २०४९ मा जिल्ला विकास समिति कञ्चनपुरको सभापति समेत रहनुभएको थियो । साथै, विसं २०५२ सालमा शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्री कार्यकालमा उहाँ सल्लाहकार समेत रहनुभएको थियो ।
दोस्रो संविधान सभा निर्वाचनमा संविधान सभा सदस्य रहनुभएका नेता बोहरा विसं २०८० सालमा भएको निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
पार्टीमा उहाँले महत्वपूर्ण पदका लागि कहिले पनि दाबी पेस नगरेको उहाँ निकट नेताहरू बताउँछन् । पार्टीको जिल्ला सदस्य मात्रै रहनुभएका उहाँ जिल्लामा महत्वपूर्ण पदमा भने रहनुभएन ।
स्वच्छ छविका, मिलनसार, हक्की स्वभावका नेता बोहराको निधनले पार्टीमा शोक छाएको छ ।
नेता बोहराका श्रीमती, एक छोरा र चार छोरी छन् । पार्थिव शरीरको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख बोहराले बताउनुभयो ।