• ३० पुस २०८२, बुधबार

नेपाली खेलकुदमा ‘पेसएक्स स्पोटर्स’ सुरु

blog

काठमाडौँ, पुस ३० गते। नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोटर्स’ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ। 

नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा आयोजित प्रेस सम्मेलनमार्फत संस्थाको उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिइएको हो।

प्रेस सम्मेलनमा संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले प्रेस विज्ञप्ति पढेर सुनाउँदै नेपालमा खेलकुदको अपार सम्भावना हुँदाहुँदै पनि जरा तहमा प्रशिक्षणको अभाव, संरचित कार्यक्रम नहुनु, खेल शिक्षाप्रति न्यून चेतना र दीर्घकालीन दिगोपनको कमीजस्ता समस्या विद्यमान रहेको उल्लेख गर्नुभयो। 

संस्थाका अनुसार ‘पेसएक्स स्पोटर्स’ केवल प्रशिक्षण केन्द्रमा सीमित नरही खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुदसँग सम्बन्धित निकायलाई जोड्ने साझा मञ्चका रूपमा अघि बढ्नेछ। खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्थापित गर्नु संस्थाको दीर्घकालीन लक्ष्य रहेको जनाइएको छ।

प्रेस सम्मेलनमा संस्थाका सिईओ सौरव सिंह र निर्देशक डा. रिसव दास अतिथिका रूपमा उपस्थित थिए। सिईओ सिंहले पनि पत्रकारको प्रश्नको जवाफ दिँदै संस्थाले विद्यालय तथा समुदाय स्तरमै खेल प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र नैतिक विकास, विद्यालय–कलेज खेलकुद कार्यक्रम, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नतालाई प्राथमिकता दिने बताए।

‘पेसएक्स स्पोटर्स’ले प्रशिक्षक, पूर्व खेलाडी, विद्यालय, खेल संघ–संस्था, स्थानीय तह, निजी क्षेत्र तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै दीर्घकालीन प्रभाव पार्ने खेलकुद इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।