• १ माघ २०८२, बिहिबार

नेपालगन्जमा दुई सय प्रकारका मःमःसहित चौथो मःमः फेस्टिभल गरिने

blog

फेस्टिभलमा राखिने विभिन्न प्रकारका मःमः को नमुना देखाएर जानकारी गराउँदै ।तस्बिर : सिराज खान ।

सिराज खान

नेपालगन्ज, माघ १ गते । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सिद्धार्थ कटेज नेपालगन्जले चौथोपटक मःमः फेस्टिभल आयोजना गर्ने भएको छ । 

सिद्धार्थ कटेजले सन् २०८० सालदेखि निरन्तर रूपमा नेपालगन्जमा मःमः फेस्टिभल आयोजना गर्दै आएको छ ।

यस वर्षको चौथो मःमः फेस्टिभलमा दुई सय भन्दा बढी प्रकारका मःमः समावेश गरिने जनाउँदै सिद्धार्थ हस्पिटालिटी ग्रुपका पश्चिम क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले स्थानीय समुदायमा लोकप्रिय रहेका विभिन्न स्वादका मःमः तथा परिकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताउनुभयो । 

उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा प्रत्येक दिन फरकफरक कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । 

फेस्टिभलको पहिलो दिन स्थानीय कलाकार तथा ब्याण्डहरूको प्रस्तुति हुनेछ भने दोस्रो दिन चर्चित गायक खुमन अधिकारी, इशान सञ्ज्याललगायत कलाकार तथा ब्याण्डहरूको आकर्षक प्रस्तुति रहनेछ । 

साथै सोही दिन सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एण्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिनेछ, जसका लागि निःशुल्क नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको सिद्धार्थ कटेजका महाप्रबन्धक बद्री कोइरालाले बताउनुभयो । 

उहाँका अनुसार फेस्टिभलको अन्तिम दिन राष्ट्रिय तथा स्थानीय ब्याण्डहरूको प्रस्तुति रहनेछ भने तीनै दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति पनि निरन्तर रहने छ ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका कर्पोरेट सेफ एलबी कौशलले फेस्टिभलमा राखिने दुई सय प्रकारका मःमः लगायत अन्य स्थानीय खानाको परिकारका बारेमा विस्तृत रुपमा जानकारी गराउनुभयो । 

सिद्धार्थ कटेज नेपालगन्ज शहरको मुटुमा अवस्थित, पर्याप्त स्पेस भएको लोकप्रिय रेस्टुरेन्ट हो ।सिद्धार्थ ग्रुप अन्तर्गत नेपालगन्जमा रहेको चार तारे होटल सिद्धार्थ सहित देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेट सञ्चालनमा रहेको सिद्धार्थ हस्पिटालिटी ग्रुपका सेल्स म्यानेजर नविन भट्टले बताउनुभयो ।