• २१ असार २०८१, शुक्रबार

सिन्धुली महोत्सव सुरु

ग्रामीण तहदेखि नै उद्यमशीलता विकास गर्ने लक्ष्य

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस ९ गते । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शुक्रबारदेखि छैटौँ सिन्धुली महोत्सव–२०७९ सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त महोत्सवको उद्घाटन गर्नुभयो । 

‘कृषि उद्योग र पर्यटनमा अभिवृद्धि गरौँ, समृद्धि र समुन्नत सिन्धुली निर्माणका लागि अघि बढाैँ’ भन्ने नारासहित सुरु भएको यो महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री बडूले ग्रामीण तहदेखि नै औद्योगिक ग्राम स्थापना सरकारको लक्ष्य रहेको बताउनुभयो । 

“अहिले मुलुकमा खास गरी ग्रामीण तहदेखि नै उद्योग र उद्यमशीलताको स्थापना अहिलेको सरकारको लक्ष्य छ । ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्रामको स्थापनाको लक्ष्य छ । १०५ वटा घोषणा भइसकेका छन् । यो वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुँदै छन्,” उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो । निजी क्षेत्रको सहभागितासहित मुलुकको समृद्धि र उत्पादन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजगताका साथ अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले समृद्ध र विकसित सिन्धुलीको स्थापना महोत्सवको लक्ष्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुनकोसी–मरिण डाइभर्सन निर्माणले मधेशको विकासमा ठूलो सहयोग पुग्ने चर्चा गर्दै उक्त आयोजना निर्माणले मधेश प्रदेशको जमिनमा सिँचाइ सुविधा पुगी खाद्यान्न उत्पादन बढ्ने बताउनुभयो ।

सिन्धुलीका सांसद श्यामकुमार घिमिरेले उद्योग र व्यवसायको विकास नभएसम्म देशको विकास नहुने बताउनुभयो । अर्का सांसद लेखनाथ दाहालले सिन्धुली महोत्सवले सबैमा उत्साह भर्नुपर्ने चर्चा गर्दै महोत्सव उत्पादन रोजगारसँग जोडिनुपर्ने बताउनुभयो ।

सिन्धुली महोत्सव–२०७९ आयोजक मूल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवको मुख्य उद्देश्य दमकल खरिद गर्न स्रोत जुटाउनु रहेको बताउनुभयो ।

पुस ८ देखि १८ गतेसम्म चल्ने छैटौँ सिन्धुली महोत्सवले जिल्लाको समग्र कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । 

उक्त महोत्सवमा कृषि, पशु, घरेलु उद्योग, लघु उद्यम, पर्यटन आदिसँग सम्बन्धित ३५० वटा स्टल राखिएको र करिब पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ ।