• १२ मंसिर २०८१, बुधबार

ल्याइए बयालीस बाच्छाबाच्छी

blog

काठमाडौँ, पुस ८ गते । दक्षिण कोरियाले निःशुल्क रूपमा उपलब्ध गराएका होलिस्टिन जातका ४२ वटा गाई (बाच्छी) र साँढे (बाच्छा)को पहिलो खेप यहाँ ल्याइएको छ ।

दक्षिण कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल कोरियाको सहयोगमा बिहीबार एसियन एयरलाइन्सको जहाजमा काठमाडौँ ल्याइपु-याइएको हो । बिहीबार नै ती बाच्छाबाच्छी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकको उपस्थितिमा कृषि मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपककुमार खराललाई ती बाच्छाबाच्छी हस्तान्तरण गरिएको हेफर इन्टरनेसनल नेपालका ज्ञान व्यवस्थापन तथा सञ्चार व्यवस्थापक प्रवीण गुरुङले जानकारी दिनुभयो । 

कोरियाले १२१ वटा गाई तथा साँढे दिएको छ । त्यसमध्ये बिहीबार पहिलो खेपमा छदेखि नौ महिनाका ४२ वटा बाच्छाबाच्छी यहाँ ल्याइएको हो । बाँकी बाच्छाबाच्छी मङ्सिर ८, १० र १३ गते आइपुग्ने सञ्चार व्यवस्थापक गुरुङले जानकारी दिनुभयो । 

होलिस्टिन जातका यी बाच्छाबाच्छीका साथै दक्षिण कोरियाले कृत्रिम गर्भाधानका लागि उन्नत जातका साँढेको वीर्य पनि उपहारस्वरूप ल्याइने भएको छ । यसरी बाहिरबाट नेपालमा ल्याइएको अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको वीर्य रहेको हेफरले जनाएको छ । 

उक्त हस्तान्तरणका अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्कले दक्षिण कोरियाले नेपाल सरकारलाई आनुवंशिक रूपमा सुधारिएका गाईबस्तु तथा दुग्ध प्रविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गाई, साँढे र जमेको वीर्यको उपहारले नेपालको दुग्ध उद्योगलाई रूपान्तरण र आधुनिकीकरणमा सहयोग पुग्नेमा आफूले विश्वास लिएको उहाँले बताउनुभयो । 

कृषि सचिव खरालले यी गाई तथा साँढेले नेपालको दुग्ध क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले नेपालको दुग्ध उद्योगमा संलग्न लाखौँ परिवारलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

दक्षिण कोरियाबाट आएका यी गाई तथा साँढेले ‘बुलमदर्स’को न्युक्लियस बथान स्थापना गर्न मद्दत पुग्ने विश्वास हेफर 

इन्टरनेसनलले लिएको छ । नेपालमा दीर्घकालीन दुग्ध विकासको दृष्टिले राष्ट्रिय आर्थिक समृद्धिका लागि पनि यो सहयोगले योगदान पु¥याउने बताइएको छ । 

कोरियाबाट आउने यी गाईलाई सिन्धुलीको कमलामाई नगरपालिकाका ५० कृषक परिवारको सुधारिएको गोठमा राखिनेछ । साथै साँढेलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न प्रजनन केन्द्रमा राखिने जनाइएको छ । हेफर इन्टरनेसनल नेपालले ‘द मिल्की वे’ कार्यक्रममार्फत कमलामाई नगरपालिकामा नमुना डेरी गाउँलाई ज्ञानको केन्द्रका रूपमा स्थापना गर्ने, गाई प्रजनन केन्द्रलाई सुदृढ गर्ने र देशको दुग्ध क्षेत्रको रूपान्तरणका लागि डेरी क्षेत्रको आर्थिक अवस्थालाई सुधार गर्ने लक्ष्य राखेको छ ।