• १२ मंसिर २०८१, बुधबार

मुख्यमन्त्रीले राजीनामा दिने

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, पुस ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनुहुने भएको छ। धादिङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिन लाग्नुभएको हो।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुख्यमन्त्री पाण्डेले शुक्रबार पदबाट राजीनामा दिने तयारीमा रहनुभएको जानकारी दिनुभयो। “मुख्यमन्त्री पाण्डेले प्रतिनिधि सभाको सदस्यको बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ,” प्रवक्ता खनालले भन्नुभयो, “शुक्रबार हेटौँडा आएर राजीनामा दिने कुरा भएको छ।”

मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिनेबारेमा बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा समेत जानकारी गराइएको जनाइएको छ। नेपालको संविधानमा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा दिने व्यवस्था गरेको छ। साथै मुख्यमन्त्रीको राजीनामापछि पद रिक्त भए पनि अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेसमेत संविधानमा व्यवस्था रहेको छ।