काठमाडौं, पुस ६ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ ।
बुधबार बिहान कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु ।’’
सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।
उहाँले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत ल्याएर विजयी बन्नुभएको हो ।