• २४ असार २०८१, सोमबार

सत्र हजार क्विन्टल धान खरिद

blog

काठमाडौँ, पुस ५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले तीनवटा जिल्लाबाट १७ हजार २७९ क्विन्टल धान खरिद गरेको हो । 

पहिलो चरणमा २० हजार आठ सय क्विन्टल धान खरिद गर्ने योजना रहेको खाद्य कम्पनीले बर्दियाको राजपुरबाट मोटा धान आठ हजार ६९४ क्विन्टल र मकवानपुरबाट एक हजार २१९ क्विन्टल धान खरिद गरेको छ । यस्तै धनगढीबाट मोटा धान सात हजार क्विन्टल र महेन्द्रनगरबाट ३६५ क्विन्टल खरिद गरेको कम्पनीले जनाएको छ । अन्य जिल्लामा पनि खरिद प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ । 

चाँडै धान खरिद गर्दा चिसो धान भएर गुणस्तर बिग्रिने भएकाले पनि ढिलो खरिद गरिएको कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले सुकेको धान खरिद गर्दा चामलको गुणस्तर राम्रो हुने भएकाले पनि खरिद गर्न ढिलाइ भएको जानकारी दिनुभयो । धान थन्क्याउनेबित्तिकै खरिद गर्दा चिसो हुने हुनाले चामलको गुणस्तर बिग्रने भएकाले सुकाएको धान खरिद गर्दा गुणस्तर राम्रो हुने उहाँको भनाइ छ । 

सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार धान खरिद गरिएको कम्पनीले जनाएको छ । न्यूनतम समर्थन मूल्यमा यो वर्ष कम्पनीले तीन लाख दुई हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । 

धान खरिद गर्न कम्पनीले ९८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले निर्धारण गरेको मूल्यभन्दा बजार मूल्य सस्तो रहने हुँदा फरक मूल्य बराबरको २७ करोड रुपियाँ निकासा नभएको कम्पनीले जनाएको छ ।  

गत वर्षको धान खरिद गरेबापतको फरक रकम ३४ करोड रुपियाँ लिन बाँकी रहेको कम्पनीले जनाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत धान खरिद गरेको फरक रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।  

सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ तोकेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमतिमा सरकारले गत वर्षको तुलनामा प्रतिक्विन्टल २२६ रुपियाँसम्म मूल्य बढी तोकेको छ । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपियाँ र मध्यम धानको दुई हजार ९०२ रुपियाँ तोकेको थियो । 

सरकारले प्रत्येक वर्ष धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गर्छ । खाद्यले गत वर्ष तीन लाख क्विन्टल धान खरिद गरेको थियो । यो वर्ष बिर्तामोड, विराटनगर, लहान, जनकपुर, राजापुर, भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट धान खरिद प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । 

कम्पनीले धान खरिद गर्न ढिलाइ गर्दा व्यवसायीले सस्तो मूल्यमा खरिद गर्दा किसानमा मारमा परेको भन्दै विभिन्न जिल्लामा किसान सङ्गठनले छिटो खरिद गर्नुपर्ने मागसहित विरोध गर्दै आएका थिए । 

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहकारीमार्फत धान खरिद गर्ने भनिए पनि खरिद प्रक्रिया अगाडि बढ्न सकेको बताएको छ ।