• १२ मंसिर २०८१, बुधबार

‘गोरखापत्रका सामग्री खोजेर पढ्नेखालका भएका छन्’

blog

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाको १० औँ साधारणसभाको उद्घाटन गर्दै महासंघका संघीय महासचिव रोशन पुरी तथा अन्य अतिथिहरू । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ४ गते । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पछिल्लो समयमा गोरखापत्रका समाचार सामग्रीमा परिवर्तन आएर पठनीय भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको १० औँ साधारणसभामा उहाँले आज सोमबार सो कुरा बताउनुभएको हो । गोरखापत्रका सामग्री अहिले खोजेर पढ्नेखालका भएका छन् उहाँले भन्नुभयो । 

निजी सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्नसक्ने सञ्चार सामग्री पस्केर गोरखापत्रले आफूलाई फरक ढङ्गबाट प्रस्तुत गरिरहेको चर्चा गर्दै महासचिव पुरीले निजी व्यावसायिक सञ्चारमाध्यमसँग निरन्तर प्रतिस्पर्धा गर्न अझै मेहनत आवश्यक रहेको बताउनुभयो । 

अहिले गोरखापत्र खोजी खोजी पढ्न थालिनु गोरखापत्रमा रहेका श्रमजीवी पत्रकारको मिहिनेतका कारण भएको उहाँले बताउनुभयो । गोरखापत्रको अनलाइन संस्करणले समेत निक्कै राम्रो ‘माइलेज’ लिएको र अझै प्रतिस्पर्धामा खरो उत्रने विश्वास व्यक्त गर्नुभयो । 


गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रको व्यवस्थापनले सदैव श्रमजीवी पत्रकारको हकहितका लागि काम गरिरहेको बताउनुभयो । उहाँले आफूहरूले जिम्मेवारी लिएको १४ महिना भएको र यस अवधिमा कुनै पनि श्रमजीवी पत्रकार अन्यायमा नपरेको जानकारी दिनुभयो । 

अध्यक्ष सुवेदीले निजी सञ्चार माध्यममा लगानीकर्ताबाट अनावश्यक नियन्त्रण र हस्तक्षेप हुने भए पनि गोरखापत्रमा कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट गर्नुभयो । गोरखापत्रले पछिल्लो समय सरकारको भाषा र भाषण मात्रै नभएर जनपक्षीय सामग्रीलाई प्राथमिकतामा राखेर प्रकाशन गरेको उल्लेख गर्दै उहाँले गोरखापत्रमा धेरै परिवर्तन आएको प्रतिक्रिया आउन थाल्नु सकारात्मक रहेको टिप्पणी गर्नुभयो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकार महासङ्घले लोकतन्त्र स्थापनामा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आफूहरूले श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर प्रयास गर्ने बताउँदै महाप्रबन्धक ऐरीले गोरखापत्रमा कार्यरत पत्रकारले व्यवस्थापनको कारणले समस्या बेहोर्नु नपर्ने स्पष्ट पार्नुभयो । गोरखापत्रका प्रकाशनहरूमा पछिल्लो समय समाचार सामग्री प्रस्तुतिमा आएको परिवर्तन निक्कै सकारात्मक रहेको चर्चा गर्नुभयो । 


गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र सबैको साझा चौतारी रहेको बताउनुभयो । उहाँले गोरखापत्र परिवर्तनको दिशातर्फ अगाडि बढेको बताउँदै गोरखापत्रका सामग्रीको परिवर्तन सबैको साझा प्रयासले मात्र सम्भव भएको र १२२ वर्षदेखि प्रकाशित भइरहेको गोरखापत्र सबैको अभिभावक रहेको प्रष्ट पार्नुभयो ।  उहाँले गोरखापत्रको साख र विश्वसनीयता भनेकै यसले पस्कने आधिकारिक समाचार हो भन्नुभयो । 

द राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले पत्रकार महासङ्घले पत्रकारको हकहितका लागि काम गर्न आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले गोरखापत्र पत्रकारिताकै अभिभावक भएकाले यसको अनुसरण अरूले गर्ने हिसाबले काम गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले गोरखापत्र नेपाली सञ्चार माध्यमका लागि सेतु रहेको बताउनुभयो । गोरखापत्रले पछिल्लो समय केही नयाँ प्रयास गरिरहेको भन्दै गोरखापत्रको सामग्रीको प्रशंसा गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले गोरखापत्रले करार, अस्थायी सबै पत्रकारलाई समान व्यवहार गर्न अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय गोरखापत्रले दिने सामग्रीलाई जनपक्षीय बनाइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।  


पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष सरोज ढुङ्गेलले पत्रकारको हकहितका लागि केही प्रयास गरिरहेको र व्यवस्थापनले समेत निकै सहयोगी भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।  

आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाका लागि गोरखापत्र संस्थानले महासंघलाई छ सय थान डायरी उपलब्ध गराएको छ । 

कार्यक्रममा पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानको साधारणसभामा संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले महासङ्घका महासचिव रोशन पुरीलाई डायरी हस्तान्तरण गर्नुभयो ।