काठमाडौं, पुस ३ गते। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभाका निर्वाचित सांसदको शपथपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुने बताउनुभएको छ।
आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
महराले भन्नुभयो, “शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुन्छ।”
संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाइए पनि शपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने उहाँको भनाइ छ। नेता चयनबारे छलफल स्थगित गरिएको उहाँले बताउनुभयो।
उहाँले सत्ता गठबन्धन कायम नै रहेको जानकारी दिनुभयो।