नारद कोहार
तौलिहवा, पुस ३ गते । कपिलवस्तुका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग माग गरिएको छ । बृहत्तर यौनिकता तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सो कार्यक्रम माग गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको आयोजना तथा युएनएफपीएको आर्थिक र प्राविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बृहत्तर यौनिकता शिक्षा जिल्ला कार्यालयको बैठकमा सो माग गरिएको छ ।
प्रदेश सरकारकै एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत जिल्लाका विद्यालयमा समेत सो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारसँग माग गरिएको समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले बताउनुभयो । कार्यक्रमले विद्यालयमा यौनिकता र स्वास्थ्य शिक्षा प्रभावकारी बन्ने उहाँको भनाइ छ ।
यस्तै ३ विद्यालयमा रहेको यौनिकता शिक्षाको मोडल कार्यक्रम सञ्चालन भएका अन्य नौ वटामा समेत थप गर्ने निर्णय गरिएको छ । कपिलवस्तुका तीन पालिकामा यौनिकता शिक्षा सञ्चालन गरिएको छ ।
यस्तै, जिल्लामा रहेको प्रत्येक विद्यालयबाट कम्तीमा २ वटा शिक्षकलाई यससम्बन्धी तालिम दिने र त्यसको स्रोत खोजी गर्ने समेत निर्णय गरिएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले नगरपालिमा रहेको विद्यालयमा यौनिकता शिक्षा कार्यक्रमको जानकारी दिँदै नगरभित्रका नौ सय जना विद्यार्थीलाई यौनिकता शिक्षाबारे जानकारी गराइएको बताउनुभयो । बैठकमा हालसम्मका सिकाई उपलब्धिबारे अनुभव आदान प्रदान समेत गरिएको थियो ।
यौनिकता शिक्षालाई विद्यालयमा प्रभावकारी ढङ्गबाट लैजानु पर्ने युएनएफपिएका जिल्ला अधिकृत सञ्जय शर्माले बताउनुभयो । बैठकमा कपिलवस्तु र शिवराज नगरपालिका र शुद्धोदन गाउँपालिका तथा विद्यालयका प्रतिनिधिको सहभागिता रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक रामनारायण शाहले बताउनुभयो ।