• २४ वैशाख २०८१, सोमबार

विश्वकप फाइनल: फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने

blog

ब्युनर्स आयर्स, अर्जेन्टिना, पुस ३ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतार जाने बताउनुभएको छ ।     

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताउनुभएको छ ।     

आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उहाँले भन्नुभयो, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्वीटरमा लेखेका छन् ।     

कतारको खलिफा रङ्गशालामा शनिबार भएको तेस्रो स्थानका लागि भएको प्लेअफमा मोरक्कोलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले विश्वकप फाइनल खेलमा तेस्रो स्थान जित्न सफल भएको छ ।     

रिपोर्टका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्सका केही खेलाडी कोरोना भाइरसबाट प्रभावित भएका छन्, जसका कारण टोलीका प्रारम्भिक ‘सेन्टर ब्याक’ जोडीले आइतबार अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनल खेल्न पाउने छैनन् ।     

इएसपीएनका अनुसार राफेल भारानमा कोरोना भाइरसको हल्का लक्षण देखिएको छ भने डिफेन्डर इब्राहिमा कोनाटे बिरामी भएपछि कोठाबाट बाहिर निस्किनुभएको छैन ।     

वाराने र कोनाटेसहित पाँच फ्रान्सेली खेलाडीले अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको दुई दिनअघि भएको प्रशिक्षणमा सहभागी हुन सक्नुभएको थिएन । डेयोट उपमेकानो, एड्रिएन राबिओट र किङ्स्ले कोमान हप्ताको सुरुमा बिरामी पर्नुभएको र शुक्रबारको अभ्यास गर्न सक्नुभएको थिएन ।